पर्सा। पर्सामा फेला परेका कोरोना संक्रमित भारतीय जमातीहरुसँग सम्पर्कमा आएकाहरुलाई प्रहरीले खोजी गरि सोधपुछ शुरु गरेको छ। पहिलो चरणमा जमातीहरुको पर्सामा व्यवस्थापन गर्नेहरुलाई प्रहरीले खोजी गरि सोधपुछ शुरु गरेको हो।
जमातीहरुको व्यवस्थापनमा सक्रिय अलि अस्गर मदानीलाई प्रहरीले आइतवार सोधपुछका लागि क्वारेन्टाइनमा राखेको छ। मदानीले नै भनेको आधारमा थप तीन जना मोहम्मद सकिल, हाजी अब्वास र रियाज अहमदलाई पनि प्रहरीले आइतवार नै क्वारेन्टाइनमा राखेको छ। मोहम्मद सकिल र हाजी अब्बास जालिम मुखियाका खास सम्पर्कका ब्यक्ति हुन्। उनीहरुकै दवाव पछि जमातीलाई यतिमखानामा राखेको उनले बताएका थिए।
मुस्लिम समुदायमा यतिमखाना टुहुरा बालबालिका राख्ने आश्रयस्थल हो। यतिमखानामा जमातीहरु राख्ने चलन नभएपनि दवाव आएपछि आफूहरुले जमाती राखेको बयान मदानीले प्रहरीलाई दिएका थिए। यतिमखानामा १८ जना टुहुरा बालक र ६ जना शिक्षकहरु रहेका थिए। जमातीहरु राख्नुपर्दा बालिबालिका र शिक्षकहरु पनि अप्ठयारोमा परेको उनले प्रहरीसँग गुनासो गरेका थिए। सो यतिमखानामा १४ जना जमाती बसेका थिए।
बीरगञ्ज आदर्श नगरको कलवार कल्याण सेवा सदन (धर्मशाला)लाई अहिले क्वारेन्टाइनमा रुपान्तरण गरिएको छ। धर्मशालाको क्वारेन्टाइनमा राखिएकाहरुलाई उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा अन्तर्वार्ता चलेको पर्सा प्रहरीले जनाएको छ। पर्सामा भेटिएका जमाती मध्ये ३ जनामा कोरोना पोजेटीभ देखिएपछि प्रसासनले सक्रियता बढाएको हो।
आइतवार क्वारेन्टाइनमा राखिएका ४ जनाले भनेको आधारमा १७ जनालाई सोमबार बोलाई अन्तर्वार्ता गर्ने योजना पनि प्रहरीले बनाएको छ। प्रहरीले अन्तर्वार्ताका क्रममा जमातीहरुलाई उनीहरुको को कोसँग सम्पर्क भयो, कहाँकहाँ गए सो को ट्रेसिङ गर्ने काम गरिरहेको पर्सा प्रहरीका एक अधिकारीले जानकारी दिए।
प्रहरीले समुदायमा कोरोना संक्रमण नफैलियोस भनेर उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम गरि ति व्यक्तिहरुलाई पनि क्वारेन्टाइन गर्न काम शुरु गरेको बताएको छ। प्रहरीले यसलाई व्यवस्थापन गर्ने कामको रुपमा बुझाएको छ। एक प्रहरी अधिकारीले भने, ‘सबै जमातीहरुको ट्रेस र ट्याकिङको सिलसिला जारी छ।‘
जमातीहरुसँग अन्तर्वार्तामा लिने क्रममा उनीहरुले दिएको जानकारीलाई भेरिफाई गर्ने काम पनि भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले जमातीहरुसँग रहेको एटीएम कार्ड अनुसन्धानको क्रममा प्रयोग भएको पाएको स्रोतको दावी छ। प्रहरी स्रोतका अनुसार जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखियाको संलग्नता संक्रमित जमातीहरुलाई ल्याउने बारेमा धेरै ठाउँबाट रिपोर्ट आएकोले उनको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ।
प्रहरीले बीरगञ्जको कादाम्बरी बोर्डीङ स्कूलको छेउमा रहेको जालिम मियाँ (मुखिया) को घरमा अपरिचित शंकास्पद व्यक्तिहरुको बारेमा समेत रिपोर्ट आएको बताएको छ। जालिमको छोरा नसिर मियासँग स्थानीय टोलबासी तथा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्यायले बुझ्दा आफ्नो इट्टा भट्टामा काम गर्ने मजदुर रहेको जवाफ दिएका थिए। स्थानीय लवज र लवाई नमिल्ने अपरिचित व्यक्तिको बारेमा शंका लागेपछि उपाध्यायले प्रहरीलाई खबर गरेका थिए। परिचय नखुलेका तथा कुर्कुच्चा माथीसम्मको पाइजामा लगाएका केहि ब्यक्तिहरु अहिले पनि मियाँकहाँ देख्दा स्थानियहरु डरमा रहेको भन्दै उपाध्यायले जानकारी दिए।