arrow

राप्तीसोनारीले सुरु गर्‍यो राहत वितरण, क्विक रेस्पोन्स टिमले घरमै राहत पुर्‍याउने

logo
प्रकाशित २०७६ चैत २९ शनिबार
corona-relief.jpg

बाँके। राप्तीसोनारी गाउँपालिकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि शनिबारबाट राहत वितरण सुरु गरेको छ। गाउँपालिकाले वडा नम्बर ८ बाट राहत वितरण सुरु गरेको हो । यसका लागि गाउँपालिकाले ९ वटै वडाबाट करिव ४ हजार परिवारको तथ्यांक संकलन गरेको थियो । ती परिवारलाई प्याकेजसहित राहत वितरणको काम सुरु गरिएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतले बताए । 

'बिशेष गरेर दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई प्याकेजसहित राहत वितरण सुरु गरेका छौं,’ बस्नेतले भने ‘ वडाबाट चार हजार बराबर सम्भावित तथ्यांक आएको छ, सोही तथ्यांक अनुसार अब प्रत्येक वडाले राहत वितरण गर्नेछन् ।’ 

दैनिक ज्याला मजदुरी गर्ने परिवारले खान नपाएको भनि वडाका जनप्रतिनिधीलाई फोन गर्ने वित्तिकै आधा घण्टा भित्रमा घरमै गएर क्विक रेस्पोन्स टिमले राहत सामग्री पुर्याउने व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए ।

‘कसैले खाना खाए पाइन, भोकै बसेको छु, मेरो चुलो बलेन भनेर फोन गर्यो भने आधा घण्टाभित्रै उपलब्ध हुने गरी राहत प्याकेज घरमै पुर्याउने ब्यवस्था मिलाइएको छ, यसका लागि राहत सामग्री वडामा गइसकेको छ’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले हाम्राकुरासँगको कुराकानीमा बताए ।

गाउँपालिकाले राहत वितरणका लागि परिवार संख्याको आधारमा तीन प्रकारको प्याकेज बनाएको छ । ‘एक जनाको परिवारलाई चार किलो, चार जनासम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल दिइन्छ,’ बस्नेतले भने ।

वडा अध्यक्ष बस्नेतले राहत वितरणको काम सुरु भइसकेकाले दैनिक ज्याला मजदुरी गर्ने परिवारले सम्बन्धित वडामा सम्पर्क गरेर लिन सक्ने बताए । ‘उहाँहरुको सुबिधाको लागि हामीले राहत सामाग्री घरमै पुर्याइदिने ब्यवस्था मिलाएका छौं, लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार कोही पनि भोकै नबस्नु होला,’ बस्नेतले भने ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन लम्बिदा राप्तीसोनारी क्षेत्रभित्र दैनिक ज्याला मजदुरी गर्ने परिवारको बिचल्ली भएको छ । लकडाउनबाट प्रभावित गरिव तथा विपन्न परिवारप्रति गाउँपालिका सम्बेदनशिल रहेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

राहत वितरणको काम ब्यवस्थित र पारदर्शी रुपले सञ्चालन गर्न सबै वडाका जनप्रतिनिधीलाई निर्देशन समेत दिइसकेको छ। गाउँपालिकाले राप्तीसोनारीका सबै १५ हजार परिवारका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन दिने भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने।

लामो समयदेखी चलेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि बाहिर निस्कन नपाएको हुँदा यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै क्विक रेस्पोन्स टिममा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडा अध्यक्षहरु, नेपाल प्रहरी र रेडक्रसका प्रतिनिधि रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ