arrow

कुखुरालाई घाँस दाना

logo
झलनाथ खनाल 
प्रकाशित २०७६ चैत २९ शनिबार
poultry-farm.jpg

भजनी। कैलालीको टीकापुर नगरपालिका वडा नं ३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरी कुखुरालाई दाना नहुँदा त्यसको सट्टा घाँस तयार पार्दै थिए। कोभिड –१९ का सङ्क्रमण जोखिमका कारण देश लकडाउनमा परी दाना उपलब्ध नहुँदा करीब एक हप्तादेखि ठाकुरले फर्ममा रहेका करीब पाँच सय कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आएका छन्।

ठाकुरले मात्र होइन, अन्य कुखुरा व्यवसायले समेत उनकै सिको गर्न थालेका छन्। चैतेदशैं र नयाँ वर्ष लक्ष्य गरी कुखुरा फर्म शुरु गरेका कुखुरापालकले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन्। ठाकुरले माघ महिनामा आठ सय कुखुराका चल्ला फर्ममा राखिएको र ती ६० दिनभन्दा बढीका भइसकेका छन्। पैँतालीस दिनभित्र कुखुरा उठाइसक्नु पर्ने भए पनि लकडाउनका कारण हालसम्म ५०  कुखुरा पनि बिक्री नभएको उनले बताए।

‘साहुसँग कुखुराका लागि दाना मगाउँदा छैन भन्ने प्रतिक्रिया आउँछ। दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ’, ठाकुरले भने, ‘हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन। मेहनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो। आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु।’ बजारमा दाना पाउन छाडेपछि ठाकुर पाँच केजी दाना, २० केजी घाँस र पाँच केजी चामलको भुस मिलाएर कुखुरालाई दिन्छन्।

सोही ठाउँका मंगल चौधरीको फर्ममा एक हजार कुखुरा छन्। लकडाउनका कारण कुखुरा बजारमा नजाँदा दुई सयभन्दा बढी  मरिसकेको मंगलले बताए। उनले लघुवित्त संस्थाबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो आठ लाख डुब्ने खतरा आएको चिन्ता व्यक्त गरे। उनले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको बताउँदै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको गुनासो गरे।

‘किस्ता पैसा नतिर्दासम्म समूह उठ्दैन। किस्ता तिर्नलाई पैसा छैन। भएको पैसा कुखुरा फर्ममा खर्च भइसकेको छ’, मंगलले भने, ‘साँझबिहान अत्यावश्यक सेवाका लागि खुल्ने पसलहरुजस्तै फ्रेस हाउस पनि खुलिने भए केही राहत हुन्थ्यो। यस्तै अवस्था रहे रोडमा जानुको विकल्प छैन।’

कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका वडा नं ७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ। फर्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फर्ममै रहँदा परिवारलाई साँझबिहानको जोहो गर्न उहाँलाई समस्या हुँदै आएको छ। ‘मसँग साढे सात सय कुखुरा थिए। दुई सय कुखुरा मरेका छन् भने एउटा पनि बिक्री गर्न पाइएको छैन’, उत्तमले भने, ‘परिवारको सबै आशभरोसा यही कुखुरा फर्म थियो। अहिले राहत माग्न गए पनि स्थानीय सरकारले दिँदैन। नजाऊँ भने परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसकेको छ।’ उनले स्थानीय सरकारलाई फ्रेस हाउस दैनिक रु दुई देखि चार घण्टासम्म खोल्ने व्यवस्था गरिदिएको भए आफूजस्ता सयौंँ कुखुरा व्यवसायीले ठूलो राहत पाउने बताए।

हाल टीकापुर नगरपालिकामा पाँच पोल्ट्री सप्लायर्स  छन्। सप्लायर्सले आफैं लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताए। उनका अनुसार हालको अवस्थामा नगरपालिकाभित्र ६० देखि ७० लाखसम्म कुखुरा तयारी अवस्थामा छन्। दैनिक एक लाखसम्म कुखुरा पनि बजारमा गएका छ्रैनन्।

सप्लायर्सका सञ्चालक बुढाले कुखुराको दानाका लागि कम्पनीले नगदमा मात्र कारोबार गर्न थालेपछि आफूहरुसँग भएको लगानी नउठ्दा दाना आयात गर्न सक्ने अवस्था समेत नरहेको बताए। ‘कुखुरा व्यवसायीलाई राज्यले केही छुट दिन आवश्यक छ। अहिले पोल्ट्री व्यवसायीहरु दिनप्रतिदिन धराशायी बन्दै आएका छन्।’ बुढाले भने, ‘यही अवस्था रहे पोल्ट्री व्यवसायीहरु रोडमा आउनुपर्ने अवस्था देखिएको छ । कहीँ कतैबाट पनि हामीहरुलाई सहज गर्ने बाटो पाइएको छैन।’

उनले तत्काल केही व्यवसायीसँग बारीमा घाँस भएका कारण त्यसलाई दाना बनाएर कुखुरालाई बचाउने काम गर्दै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन नहुने र घाँस सबै व्यवसायीसँग नभएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ