पोखरा। गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आएकी ३५ वर्षीय देवकी थापामगर रहेकी छिन्। पर्वत जिल्लास्थित बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हामफालेर थापामगरको मृत्यु भएको हो। उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।
त्यसैगरी पोखरा महानगरपालिका–१ बगरस्थित सेतीनदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। पोखरा–१६ दीप बस्ने करिब २४ वर्षीय अमृत मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। त्यस्तै पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारास्थित पानीको नहरमा नवजात शिशु मृतावस्थामा फेला परेको हो।
जङ्गलमा लागेको आगोमा परी चार घाइते
लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–३ केराबारी सामुदायिक वनमा लागेको आगोमा जलेर चार जना घाइते भएका छन्। सो जङ्गलको बाटो भई भोटेओडारतर्फ जाने क्रममा आगोमा परी दूधपोरी गाउँपालिका–६ ओखरेगाउँका १७ वर्षीया पूजा गुरुङ, २८ वर्षीया हरिमाया गुरुङ, १० वर्षीया रश्मी गुरुङ र पाँच वर्षीया अस्मी गुरुङ घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार हातखुट्टा आगोले पोलेर घाइते भएका सबैको सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ।
गोरु काटेको अभियोगमा दुई पक्राउ
पोखरा महानगरपालिका–३३ छप्ल्याङको चालिसे भन्ने स्थानबाट गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पोखरा–३२ लामेआहालका २७ वर्षीय अनिष भुजेल र छप्ल्याङका ३७ वर्षीय सञ्जय कार्कीलाई गोरुको मासु र पुछारसहित पक्राउ गरेको हो।
ती सबै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।