फेसबुक मेसेन्जरबाट उठाईएको नगद र खाद्यान्न हस्तान्तरण
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २८ शुक्रबार
140
Shares
पाँचथर। प्रविधीको उपयोग गर्दै पाँचथर उद्योग वाणिज्य संघले गएको शुक्रवार सुरु गरेको खाद्यान्न बैंकमा जम्मा भएको खाद्यान्न र नगद हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्यय संकटको पुर्वानुमान गर्दै गत शुक्रवार फेसबुक म्यासेन्जरमा सुरु गरिएको फूड बैंकमा कुल ८ लाख ७४ हजार ७ सय २० रुपैँया बराबरको खाद्यान्न र नगद जम्मा भएको थियो ।
जम्मा भएको मध्ये ३ लाख ५८ हजार ८ सय २० रुपैँया नगदै जम्मा भएको थियो । खाद्यान्न र नगद मध्ये पाँचथर जिल्लाका सबै स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । फिदिम नगरपालिकालाई उस्को भागमा परेको मध्ये सबै खाद्यान्न नै प्रदान गरिएको छ । अरु गाउँपालिकालाई रु ५१ हजारका दरले नगदै हस्तान्तरण गरिएको संघका अध्यक्ष दिपक नेपालले जानकारी दिनुभयो ।
पाँचथर उद्योग बाँणिज्य संघको अगुवाइमा ब्यवसायी र सरोकारवालाहरुको सहयोगमा ‘पीसीसीआई फूड बैंक’ स्थापना गरिएको हो । बिहिवार उद्योग बाँणिज्य संघको हलमा फिदिम नगरपालिका र पाँचथर उद्योग बाँणिज्य संघ बिच सहयोग लिने दिने बिषयमा औपचारीक समझदारी भयो । बिहिवार भएको समझदारी अनुसार नगरपालिकाले संघको गोदाममा रहेको खाद्यान्न आवस्यकता अनुसार बिपन्न परिवार सम्म पुर्याउने बताइएको छ । नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार राहत पाउनुपर्नेहरु सम्म पुर्याउन आफुले पहल गर्ने फिदिम नगरपालिकाका मेयर ओनहाङ नेम्बाङले बताउनुभयो ।
संकलित नगद र खाद्यान्न ब्यवसायी र सहयोगिहरु मार्फत आएको हो । जिल्लामा आठ स्थानीय तह छन । संकलित सबै खाद्यान्न र नगदलाई ९ भागमा बिभाजन गरिएको र फिदिम नगरपालिकालाई सबै खाद्यान्न र अरू गाउँपालिकालाइ नगदै हस्तान्तरण गरिएको हो ।