राहत माग्न गएकालाई एक रात प्रहरी चौकिमा थुनाए वडाध्यक्षले
तेजन खड्का,
प्रकाशित २०७६ चैत २७ बिहिबार
484
Shares
मोरङ। पथरी शनिश्चरे- ४ का नवराज तामाङ मंगलवार विहान इलाका प्रहरी कार्यालयमा भन्दै थिए, राहत लिन गएको म अहिलेसम्म भोकै छु। राहत त के पाइयो र बरु उल्टै एक रात प्रहरी खोरमा वस्नु पर्यो।
उनी मात्र हैन पथरी शनिश्चरे-४ कै पूर्ण वहादुर राई, घनश्याम राई, टिकाराम थापा र धनवहादुर थापाले राहत बाँड्न अवरोध गरेको वडाअध्यक्षको उजुरी पछि इलाका प्रहरी कार्यालय पथरीमा रात काट्नु पर्यो। नवराज श्रमिक हुन्। घर बनाउने काम गर्ने तामाङको नाम राहत पाउने लिष्टमा नभएपछि उनी राहत दिलाइदिन आग्रह गर्दै स्थानीय जनकल्याण स्कुलमा पुगेका थिए।
सोमवार वडा कार्यालयले उपलव्ध गराएको राहत बाडिएपछि केहि राहतका पोका बाँकी रहेको थियो। सोहि राहतलाई पाउनु पर्ने तर नपाएकाहरुलाई वितरण गर्न पूर्ण वहादुर राई लगायतका युवाले आग्रह गरे। राहत नसकिएकाले त्यहाँ भएको राहत वाड्न केहि युवाले आग्रह गरे तर वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले बाँकी रहेको राहतको जिम्मा आफ्नो भएको र त्यो नबाड्ने अडान लिए।
घटना त्यतीमै सकिएन वडा अध्यक्ष भण्डारीले प्रहरी बोलाए अनि ५ जनालाई प्रहरीले नियन्त्रणमा लियो। राहत वितरणमा सहयोग गर्न गएका र राहत पाइन्छ कि भन्ने आशले पुगेका ५ जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखियो।
साँझतिर प्रहरी नियन्त्रणमा लिइएका ५ जनालाई राती १० बजे इलाका प्रहरी कार्यालयमा ल्याइयो ‘राती भोकै बसियो विहान मात्र चिया पाइयो’ तामाङले भने। ‘राहात नै माग्न गएको हुँ अपराधी जस्तै व्यवहार अध्यक्षले गर्नुभयो वडा अध्यक्षले दादागिरी देखाउनुभयो र आफ्नै वडाका जनतालाई प्रहरी खोरमा पठाउनुभयो।’
पिडीत भएका पूर्णवहादुर राईले भने वडा अध्यक्षले मनोमानी रुपमा राहत बाँडेको र श्रम गरि खानेलाई पनि राहत बाड्नु पर्ने माग राख्दा प्रहरी बोलाएर थुनाएको बताए। ‘खै के कारण उहाँले यस्तो गर्नुभयो त्यो बारेमा वडा अध्यक्षले जवाफ दिनुपर्छ।’ राहतका लागि ३ वटा केन्द्रमा बुझ्दा पनि राहत नपाएपछि अन्त्यमा राहत पाउनुपर्छ भनेर अडान लिएको उनिहरुले बताए।
इलाका प्रहरी कार्यालयमा मंगलवार विहान पथरी शनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई, नेकपा पथरी शनिश्चरे इन्चार्ज दिननाथ तिम्सिना लगायत पुगेर पक्राउ गरिएका युवालाई रोहवारमा छुटाइएको छ। वडा अध्यक्ष भण्डारीले ति युवालाई वुझेका थिए। प्रहरी लगाएर युवा पक्राउ गराएपछि वडामा वडा अध्यक्ष भण्डारीको चर्को विरोध भएको छ।
बेलुकादेखि केही नखाइ रात कटाएका उनिहरुले बिहान भोक लाग्यो भनेपछि नगर प्रमुखले इलाका परिसरमा रहेको होटलमा खाजा खुवाएर घर पठाएको पिडितहरुले बताएका छन्।