महावीर पुन कोरोनाको संक्रमण रोक्न पीपीई बनाउनमै व्यस्त, एम्बुलेन्स चालकलाई सित्तैमा दिन बोलाए
चिकित्सकलाई सुरक्षित राख्न अस्पतालमा कोरोना उपचार बुथ बनाउँदै
प्रकाशित २०७६ चैत २४ सोमबार
579
Shares
काठमाडौं । राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुन अहिले कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ भन्नेमा लागिरहेका छन् । यसका लागि उनले पीपीई बनाउनुका साथै विभिन्न अस्पतालमा चिकित्सकलाई सुरक्षित राख्न ‘बुथ’ बनाइरहेका छन् ।
उनले १२ सय जति पीपीई बनाइसकेका छन् । उनले आवश्यक पर्ने अस्पताललाई पनि पीपीई दिइरहेका छन् ।
हाम्राकुरासंग उनले भने, ‘वीर अस्पताललाई २५ वटा दियौं । टिचिङ अस्पताललाई २० वटा दियौं । अरुलाई आवश्यकता अनुसार केही दिएका छौं । दिँदै जानेछौं ।’
काठमाडौंभित्रका चालकलाई दिन आव्हान–
पुनले अहिलेलाई काठमाडौंभित्रका एम्बुलेन्स चालकलाई पीपीई दिने भएका छन् । उनले यो सूचना सोमबार बिहान फेसबुकमार्फत दिएका हुन् ।
उनले भनेका छन्, ‘एम्बुलेन्स ड्राइभरहरुले पीपीई नभएको हुनाले अति आबश्यक एम्बुलेन्स गाडी चलाउन नमानेको भन्ने समाचारहरु सुनियो। काठमान्डूमा हुनु भएका एम्बुलेन्स ड्राइभरहरुले लाईसेन्स सहित एम्बुलेन्स नै लिएर राष्ट्रिय आविष्कार केन्द्र, त्रिभुवन बिश्व बिद्वालय किर्तिपुरमा आज २ बजे पछि आउनु होस् र एक एक सेट पीपीई लगाएर जानु होस्। अनि बिरामी ओसार्ने काम गर्नु होस् ।’
उनले अगाडि लेखेका छन्, ‘पीपीईको पैसा तिर्नु पर्दैन । मेरो सम्पर्क नम्बर ९८४१५९२३६१ हो । अन्य जिल्लाका एम्बुलेन्स ड्राइभरहरुलाई अभावको कारणले अहिले पीपीई उपलब्ध गराउन सकिएको छैन । त्यसको लागि क्षमा चाहन्छु ।’
पुनले दैनिक सय वटासम्म पीपीई बनाइरहेको बताए । उनले भने, ‘कालिगढको अभाव छ । कालिगढ पाउँदा सय भन्दा बढी पनि बनाइरहेका छौं ।’
कत्तिको मापदण्ड पुगेको छ त ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले मापदण्ड पुगेको र नपुगेको भन्नु भन्दा पनि नभएको अवस्थामा काम चलाउने हो यो । अहिले सबैले यही चलाइरहेको छ । वीर अस्पताल, टिचिङ अस्पताल, सबै ठूल्ठूला अस्पतालले चलाइराख्या छ ।’
चिकित्सकलाई सुरक्षित राख्न बुथ
म्यागासेसे पुरस्कार विजेता पुनले देशभरिका अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्दा चिकित्सकलाई सुरक्षित राख्न ‘बुथ’ पनि बनाउन थालेका छन् ।
उनले वीर अस्पताल, पाटन अस्पताल र पोखराको गण्डकी अस्पतालमा तीन वटा त्यस्ता नमूना बुथ बनाइसकेका छन् ।
उनले सामान्य खालको भए पनि यसले सुरक्षित राख्न मद्धत गर्ने बताए । यस्तो बुथबाट उपचार गर्दा डाक्टरले पीपीई लगाउनु नपर्ने बताए ।
उनले देशका अन्य स्थानमा पनि यस्ता बुथ बनाउने काम भइरहेको बताए । उनले इटहरी, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी लगायतका अस्पतालमा यस्ता बुथ बनाइरहेको बताए ।
उनले भने, ‘टिम बनाएको छु । सके हामी बनाइदिन्छौं नसके तपाईहरु निश्चित पूर्वाधार पूरा गरेर बनाउनुस् हामी पैसा दिन्छौं भनेको छु ।’