बौनिया । यहाँका स्थानीय युवा समूह र संघसंस्थाले मजदुर घरपरिवारलाई घरदैलोमै पुगेर राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा लकडाउनबाट प्रभावित अति विपन्न, ज्यालादारी मजदुर एवं असहाय परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
गाउँपालिकामा अति विपन्न घरपरिवारलाई यसैक्षेत्रका क्रियाशिल युवा समूह र संघसंस्थाले आर्थिक सहयोग संकलन गरि खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
युवा समूहले कोरोना नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्दै आएका मजदुरलाई समस्या भएको भन्दै घरदैलोमै पुगेर सामान हस्तान्तरण गरेको हो ।
लकडाउनका कारण अप्ठ्यारो अवस्थामा सामाजिक तथा मानवीय राहत तथा उद्दारको कार्य गरिएको स्थानीय सुनिलकुमार भण्डारीले बताए ।
युवाहरुले संयुक्त रुपमा आफ्नै आर्थिक सहयोगमा ५४ हजार ५ सय बराबरको खाद्यान्न वितरण गरेको भण्डारीले जानकारी दिएका छन् ।
शनिबार गाउँपालिकाको वडा नम्बर २ अन्तर्गत बर्दगोरिया, कुम्भिया, पिरुवा लगायतका गाउँटोलमा रहेका अति विपन्न, दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका घरपरिवारलाई खाद्यवस्तु वितरण गरिएको स्थानीय युवा समाजसेवी अजय मल्लले जानकारी दिए ।
उनीहरूलाई प्रति घरपरिवार २५ केजी चामल, २ प्याकेट खाने तेल, २ प्याकेट नुन र ५ प्याकेट चाउचाउ दिइएको छ ।
त्यस्तै, वडा नम्बर १ को झगडपुरमा समेत खाद्यान्न सामान दिइएको मल्लले बताए । सो समूहले अहिलेसम्म गाउँपालिका भित्रका ४४ विपन्न र ज्याला मजदुरी गरिखाने परिवारलाई सहयोग गरेको जानकारी गराउँदै ७० घर परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी दिएको छ ।
राहत तथा उद्दार कार्यमा स्थानीय प्रमोद साउँद, पुष्कर सुनार, नवीन शर्मा, प्रकाश रिमाल, राजन पोखरेल, पुस्पराज खतिवडा, सुनिलकुमार भण्डारी, रक्षिता बिनाडी, सुरेन्द्र बुढाले संकलन गरि वितरण गरेका हुन् ।
त्यस्तै, स्थानीय शंकरप्रसाद खतिवडा, मिलन ओली, तपेन्द्र ओली, संगीत कुँवर, नरेन्द्र साउँद, दिपेन्द्र कँडेल ईभरग्रिन होटल सञ्चालक सन्तोष गौतम लगायत स्थानीय २० जना युवा समूहले खाद्य सामाग्री संकलन गरि वितरण गरेको जनाइएको छ ।
स्थानीय युवा सुनिल भण्डारीका अनुसार सहयोग गर्ने संघसंस्थाहरुमा बर्दगोरिया अस्पताल प्रालि र सगरमाथा मेडिसिन डिस्ट्रीब्युटर्सबाट औषधी तथा अन्य सामाग्री प्राप्त भएको बताइएको छ ।