जहाजको आहोरदोहोर र ढुवानीले कोरोना संक्रमण बढाउने आशंकामा हुम्लावासी उत्रिए विरोधमा, प्रधानमन्त्रीलाई पठाए ज्ञापन पत्र
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत २२ शनिबार
391
Shares
हुम्ला। खाद्यान्न समस्या हुने भन्दै लकडाउनकै बेला बुधवारबाट हवाई यातायातबाट खाद्यान्न ढुवान हुन थालेपछि हुम्लाका स्थानीय युवाहरुले विरोध जनाएका छन्।
यातायात गतिविधीले कोरोना भाइरसको संक्रमणको खतरा हुन सक्ने भन्दै युवाहरुले विरोध जनाएका हुन्। उनीहरुले तत्काल हवाई यातायात बन्द गर्न माग गरेका छन्। सिमकोटका स्थानीय युवा प्रताप लामाको नेतृत्वका यूवाहरुले प्रधानमन्त्रीलाई दिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईलाई बुझाएका हुन्।
सम्भावित संक्रमणबाट जोगिनका लागि देशभर लकडाउन जारी रहेका बेला हुम्लामा खाद्यान्न ढुवानी गर्ने नाममा हवाई जहाजहरु निर्बाध रुपमा चलेकोले त्यसलाई तत्काल रोकेर जिल्लामा संक्रमण भित्रिन नदिनका लागि ज्ञापनपत्र पेश गरेको युवा ग्याल्जन लामाले बताए।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै लामाले अहिलेसम्म राष्ट्रिय सडक संजालले नछोएको हुम्लामा कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्न नदिन बुधबारबाट सुरु गरेको खाद्यान्न ढुवानी तुरुन्त बन्द गर्नुपर्ने बताए। लामाले भने, 'हुम्लामा २ महिना लकडाउन हुँदा पनि यहाका स्थानिय अन्नहरु फापर, गहुँ, चिनो र कोदो खाए पनि हुन्छ, खानालाई चामल नै खानु पर्छ भन्ने छैन।'
संक्रमणका कारण निम्तिन सक्ने सम्भावित जोखिमका न्युनिकरणका लागि देशभर ११ गते देखि पुर्ण रुपमा लक डाउन गरेको छ। लकडाउनलाई पुर्ण परिपालना गर्नका लागि सबै क्षेत्रबाट अपिल भईरहेको र बाहिरबाट भित्रिएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा बस्न लगाईएको अवस्थामा जिल्लामा पनि घर बाहिर खुल्ला रुपमा हिडडुल नगर्न र जिल्ला बाहिरबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा बस्न लगाईएको अवस्थामा चामल ढुवानीको नाममा खतरा निम्त्याइएको स्थानियको आरोप छ।
जिल्लामा ३ हजार २ सय क्विन्टल चामल मौज्दात हुदाहुदै खाद्य संकटको कुरा ल्याएर निर्बाध रुपमा हवाईजहाजहरु जिल्ला बिमानस्थलमा अवतरण गरिरहेको दृश्यले जिल्लाबासी त्रसित बनिरहेको नागरीक अगुवा एवं मानसरोवर क्याम्पसका प्रमुख बसन्त रोकायाले बताए।
जिल्लाबासी भोकले भन्दा पनि रोगले मरिन्छ कि भन्ने डर त्रास पैदा भएको स्थानियको भनाई छ। कोरोना भाईरस जहाज वा चामलका बोराहरुबाट नआउला भन्ने अवस्था नरहेको हुनाले तत्कालका लागि नेपाल सरकारको निर्णयानुसार २५ गते सम्म जहाजको आवत जावत पुर्ण रुपमा बन्द गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको अर्का युवा रबि कमार बस्नेतले बताए।
अहिले संस्थानको गोदाममा तीन हजार दुई सय क्वीन्टल खाद्यान्न मौज्दात भएकाले जिल्लालाई सम्भावित संक्रमणबाट जोगाउन तत्काल हुम्लामा खाद्यान्न ढुवानी रोक्नु पर्ने सिमकोटका स्थानिय युबाहरुले बताएका हुन।