स्वास्थ्य सामाग्री खरिदमा सेना गुहार्नु सरकारको विफलता
प्रकाशित २०७६ चैत २१ शुक्रबार
528
Shares
काठमाडौं । नेपाल सरकारले कोरोना संक्रमण विरूद्धको लडाईंमा स्वास्थ्य सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिनु इतिहासकै शक्तिशाली भनिएको सरकारका लागि विफलता र लज्जाको विषय भएको साझा पार्टीले बताएको छ। शुक्रबार साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विज्ञप्ति जारी गरि नेपाली सेनालाई ढाल नबनाइ समस्याको राजनीतिक समाधान खोज्नु पर्ने उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ,' राजनीतिक तहमा मौलाएको भ्रष्टाचार र अकर्मण्यताले गर्दा राज्यका धेरैजसो अङ्गले जनताको नजरमा विश्वसनीयता गुमाउँदै गएका छन्। त्यति हुँदाहुँदै आम नागरिकले शंकाको लाभ दिनुका साथै सरकारलाई यस घढीमा सहयोग गर्दै आएका थिए। तैपनि आफ्नो जिम्मेवारी पुरा गर्न सरकार पूर्णरूपमा विफल भएपछि सेना गुहार्नु राम्रो संकेत होइन। तर दोष सेनाको होइन। संकटको घढीमा सरकारको आदेश पालना गर्नु उसको कर्तव्य हो। दोष शक्तिशाली तर अकर्मण्य सरकारकै हो। तुलनात्मक विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्न सकेका राज्यका थोरै अङ्ग मध्ये नेपाली सेना पर्दछ। राज्य दोहन र भ्रष्टाचारमा लिप्त सरकारका बदनियतपूर्ण निर्णयले सृजना गरेको संकट झेल्न नेपाली सेना जस्तो संवेदनशील संस्थालाई ढाल बनाउने सरकारको कदम आपत्तिजनक छ।'
'२०६९ सालमा आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि त्यतिबेलाको राजनीतिक नेतृत्वले सरकारको नेतृत्व नै तात्कालिन प्रधान न्यायाधीशलाई सुम्पिएको थियो। अहिले बढ्दोरूपमा राज्य असफल हुँदै गएको देखिएको छ। संकट गहिरिँदै र सरकार झन कमजोर अनि अलोकप्रिय हुँदै जाँदा फरक रूपमा इतिहासको पुनरावृत्ति नहोस्', विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले अहिलेको विषम परिस्थितिबाट पार पाउन सा गरेको पूर्ववत् माग, प्रमुख दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्र र विज्ञ समूहको निर्माणमाथि जोड दिएको छ।