कोरोना कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिए २ करोड
कोरोना कोषमा सम्भवत व्यक्तिगततर्फ अहिलेसम्मकै धेरै सहयोग
प्रकाशित २०७६ चैत १८ मंगलबार
639
Shares
काठमाडौं। विश्वभर कोरोना संक्रमणको सन्त्रास फैलिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न नेपाल सरकारको राहत कोषमा दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
पूर्व राजा शाहले मंगलबार एक विज्ञप्ती जारी गर्दै कोरोना बिरुद्ध लड्न हिमानी कोषमार्फत सरकारले बनाएको कोरोना उपचार कोषमा सो रकम जम्मा गर्ने घोषणा गरेका हुन ।
शाहले विज्ञप्तीमा भनेका छन, 'दुःख कष्ट र आपत विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न बुझाएका छौं ।’
पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै सो कार्यलाई अझै प्रभावकारी बनाइनु पर्नेमा समेत जोड दिएका छन ।
यसैगरी उनले लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै सोको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नरहेको भन्दै सबैलाई लक डाउनको पालना गर्न समेत आग्रह गरेका छन ।
‘लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन,’ उनले विज्ञप्तीमा भनेका छन ।
शाहले महामारीविरुद्ध अहोरात्र खटिने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने संचारकर्मी एवं पत्रकारहरूप्रति समेत आभार व्यक्त गरेका छन ।