उदयपुरमा २९ व्यक्ति क्वारेनटाइनमा, जिल्लाभर १६० क्वारेनटाइन स्थापना
विश्वराज तामाङ,
प्रकाशित २०७६ चैत १६ आइतबार
324
Shares
उदयपुर। उदयपुरमा क्वारेनटाइनमा बस्नेको व्यक्तिको संख्या २९ पुगेको छ, उदयपुरको कटारी वेलस्रोत स्थित सेना व्यारेक भित्र बनाईएको क्वारेनटाइनमा २६ जना र लिम्चुङबुङ गाउँपालिका स्थित महेन्द्र माविमा ३ गरी २९ जना पुगेको हो। जिल्लाको ८ स्थानिय तहका १३ स्थानमा १६० क्वारेनटाइन र आईसुलेसन स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी दिपकुमार पाहाडिले जानकारी दिए।
यता फ्रान्सबाट नेपाल आएकी युवती संगै आएका उदयपुरका दिपककुमार मगर उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा होम क्वारेनटाइनमा रहेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिएका छन्। मगरको अबस्था सामान्य रहे पनि हाल सम्म कोरोना संक्रमण भए नभएको जाँच गर्ने किट मार्फत परिक्षण नहुदाँ स्थानियमा त्रास फैलिएको प्रमुख राईले जानकारी दिए।
उदयपुरमा स्थापना गरिएको १६० क्वारेनटाइन मध्ये नेपाल रेडक्रस सोसाईटी उदयपुरले १३५ स्थानमा गैरखाद्य सामाग्री वितरण गरेको रेडक्रस उदयपुरका सभापती विनोदकुमार बस्नेतले जानकारी दिए। यता जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएको हेल्प डेक्स तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीको लागि पिपिई उपलब्ध नहुदाँ स्वास्थ्यकर्मीहरुले जोखिम महसुस गरीरहेका छन्।
कटारी अस्पतालमा आईसुलेसनमा रहेका उदयपुर ताप्ली गाउँपालिका ३८ बर्षिय किर्तमान मगर शनिवार बिहान भागे पछि उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।