कोरोनाको परिक्षण र उपचारको सामग्रीको अभाव हुन नदिन खाँणले गराए सरकारको ध्यानाकर्षण
प्रकाशित २०७६ चैत १६ आइतबार
563
Shares
काठमाडौं। कोरोना भाइरस(कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चाहिने विभिन्न सामग्रीको अभाव हुन नदिन नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएका छन् ।
प्रमुख सचेतक खाँणले टेलिफोन सम्पर्क गरी सरकारले खरिद गरेका उपकरण र स्वास्थ्य सामग्रीकाे गुणस्तरमा ध्यान दिदै तत्काल ती सामाग्रीहरु सातै प्रदेश र प्रदेशबाट सबै जिल्ला र स्वास्थ्य केन्द्रसम्म पुर्याउन उपप्रधान एवं रक्षामन्त्री पोखरेललाई आग्रह गरेका हुन् । यसैगरी प्रमुख सचेतक खाँणले थप उपकरण र स्वास्थ्य सामग्रीकाे खरिद प्रक्रिया अघि बढाइ सामाग्रीको अभाव हुन नदिन पनि सचेत गराए ।
लकडाउनको समयमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने प्रक्रिया सहज बनाउन पनि आग्रह गर्दै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि खाँणले माग गरे ।
यसैगरी प्रमुख सचेतक खाँणले गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका आइजीपी ठाकुर ज्ञवालीलाई सुरक्षाको प्रवन्ध चुस्तदुरुस्त बनाएकोमा धन्यवाद दिदै आगामी दिनमा थप सजग भई काम गर्न र समाजिक दुरी कायम गरि सर्वसाधारणलाई औषधि र अत्यावश्यक खाद्य सामाग्रीको व्यवस्थापन मिलाउन पनि आग्रह गरेका थिए ।
खाँणले सातै प्रदेशका संसदीय दलका नेता र प्रमुख सचेतकलाइ पनि टेलिफोन सम्पर्क गरि प्रदेशको अवस्थाका बारेमा जानकारी लिएका थिए ।