बिपन्न समूदायको खोजी गरि वडा कार्यालयबाट खाद्यान्न बितरण
प्रकाशित २०७६ चैत १५ शनिबार
580
Shares
दाङ। चैत ११ गतेदेखि लकडाउन (एकान्त बसाई) को सबैभन्दा बढी मारमा परेका निम्न आए भएका नागरिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ कार्यालयले खाद्यान्न बितरण गरेको छ। बिहान बेलुकीको खानपीनको जोह गर्न श्रम गर्नुपर्ने नागरिकको वडामा पहिचान गरि १० किलो चामल, ५ किलो पिठो,२ किलो दाल,१ किलो स्वाईबिन,१लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिए।
कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउँन सर्तकता अपनाउदै सरकारले चैत ११ गतेदेखि आगामी १८ गते सम्म आह्वान गरेको लक डाउनबाट सबैभन्दा बढि दैनिक गुजारा चलाउन श्रम गर्ने नागरिक मर्कामा परेका छन्। ४-५ दिन जसोतसो गुजारा चलाएका अत्यन्त बिपन्न समूदायले अव भने नसक्ने अबस्था बुझिएकाले खाद्यन्न बितरण शुरु गरिएको शाहले बताए।
तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्र वडा नम्वर ५ मा छ भने बिपन्न,दलित,जनजाति समूदायको बस्ती पनि पातुखालो र आसपासमा घना भएकाले ठुलो संख्यामा बसेका बिपन्न समूुदायको पहिचानमा जुटेको उनले बताए। टोलबिकास समितिको सहयोगमा वडा नम्वर ५मा झण्डै ५ सय बढी बिपन्न समूदायका नागरिकको पहिचान गरिएको छ।
ती मध्ये अत्यन्त कम्जोर वर्ग, सहाराबिहीन, बृद्धबृद्धा,दलीत, जनजाति समूदायलाई पहिलो प्राथमिकतामा राखि १ सय २० जनालाई शनिबार दैनिक उपभोग्य बस्तु(खाद्यन्न) बितरण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए।
तुलसीपुरका ब्यबसायि अब्दुल हमिद खाँले उपलब्ध गराएको खाद्यन्न १ सय २० जनालाई बितरण गरिएको श्रेष्ठले बताए। अनिकाल र संकटका बखत खाद्यन्न बितरण गरेर आफुहरुलाई बाँच्ने आशा बढाएको भन्दै उनीहरु खुशी भएका छन्।
वडा कार्यालयबाट वडा नम्वर ५ ले बाँकी बिपन्न समूदायका नागरिकहरुलाई पनि खाद्यन्न बितरणका लागि अन्य सहयोगी दाताहरुलाई आह्वान गरेको छ।