साढे २ करोडको अडियो प्रकरणमा यसो भने ज्योतिले (विज्ञप्तिसहित)
प्रकाशित २०७६ चैत ६ बिहिबार
559
Shares
काठमाडौं । राष्ट्रिय सभा सांसद बन्न साढे दुई करोड रुपैयाँ बुझाएको आरोप लागेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद शेखरकुमार सिंह बारेमा उक्त प्रकरणमा जोडिएका ज्योति झाले आफ्नो धारणा सार्वजनिक गरेका छन् । झाले विज्ञप्ति जारी गर्दै सांसद सिंहलाई निष्ठावान नेताका रुपमा औंल्याएका छन् ।
गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावबाट सांसद बन्न सिंहले साढे दुई करोड रुपैयाँ राजपाका नेताहरुलाई बुझाउन रकमको व्यवस्थापन गर्ने भनिएका शर्मा र राजपाका कार्यकर्ता सुरजीत सिंहको संवाद भएको अडियो टेप सार्वजनिक भएपछि झाको वक्तव्य आएको हो ।
यस्तो छ झाले जारी गरेको विज्ञप्ति– मिति– २०७६ चैत्र ६
विज्ञप्ति
राष्ट्रियसभा सदस्य माननीय शेखर सिंहजीको व्यक्तिगत, पारिवारिक र राजनीतिक पृष्ठभूमि निष्ठापूर्ण र इमान्दारीमा आधारित रहँदै आएको छ । लेनदेनमात्र होइन, कुनै पनि विषयमा झैझगडा, विवाद वा असमझदारीका कारण उहाँको जीवनयात्राको सादगीमा दाग लगाउन सक्ने अवस्था छैन । तर, उहाँको निष्कलंक छविमा खास व्यक्तिबाट अनर्गल र अनुचित आक्षेपयुक्त टिप्पणी आएपछि त्यस विषयमा स्पष्ट हुनका लागि मैले उहाँकै नाता पर्ने एक स्थानियलाई फोन गरेको हुँ । लेनदेनका कुरामा उहाँको कथित संलग्नताबारे स्पष्ट हुने र मिथ्याभियोगबारे उहाँले समेत अवगत हुने पाउने अभिप्रायबाट मैले ती व्यक्तिलाई कल गरेको थिएँ । दुर्भाग्यवश, मैले कल गरेको व्यक्ति आफूलाई शेखरबाबुको राजनीतिक प्रतिद्वन्दी भन्ठान्ने र उहाँप्रति गहिरो दुराग्रह राख्ने व्यक्ति भएका बारेमा म अनविज्ञ थिएँ । तसर्थ फोनमा भएका कुराकानी एउटा पक्षको दाबीबारे एउटा पक्षको जिज्ञासा र कौतुलहतामात्र हो । शेखरबाबुसँग खास प्रयोजनका लागि लेनदेन भएको विषयमा मसँग विश्वसनीय र आधिकारिक जानकारी छैन । तसर्थ मलाई उद्यृत गर्दै त्यस किसिमका समाचार सम्प्रेषण नगरिदिन हुन म सञ्चारकर्मी मित्रहरुसँग आग्रह गर्दछु।