नागरिक अगुवा भन्छन्- कोरोनाको चेकजाँच नहुने भएपछि सरकारलाई कसरी विश्वास गर्ने ?
प्रकाशित २०७६ चैत ६ बिहिबार
983
Shares
काठमाडौं। नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन् । उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइदिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘विरामी फर्काउने र राम्ररी चेकजाँच नहुने भएछि सरकारलाई कसरी विश्वास गर्ने ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिका कारण पनि झन विश्वसनियता गुम्दै गएको उनको भनाई थियो ।
प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकार्षण गराए । सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो । धेरै मानिसमा समस्या लिएर अझैपनि कहाँ र कसरी जाने भन्नेमा अन्यौलता रहेको भन्दै सरकारले जनतालाई स्पष्ट र आश्वस्त पार्न नसकेको उनको गुनासो थियो । उनले भने,‘सरकारले जनताको आशंका मेटाउनुपर्छ ।’
गैरसरकारी संस्था महासंघका अध्यक्ष जित राम लामाले कोरोना भाइरसको नियन्त्रण गर्नु सबैको साझा दायित्व भएको बताए । उनले आफुहरु सरकारसँग सहकार्य गरी महामारी नियन्त्रण गर्न तयार रहेको जानकारी दिए ।
सरकारले यसमा जनतालाई विश्वास दिलाउन नसकेको भन्दै उनले सबैको आफ्नो कार्यक्षेत्र सुरक्षित भई ढुक्क महसुस गर्ने वातावरण मिलाइदिन समेत आग्रह गरे । उनले भने,‘सरकारले ढुक्क हुनेगरी वातावरण बनाउनुपर्छ । स्वास्थ्यकर्मी, मिडिया र नागरिकलाई कसरी सुरक्षित हुने भन्नेमा तालिम दिन पनि म आग्रह गर्दछु ।’
एनले यो महामारीबाट बच्नको लागि अन्र्तराष्ट्रियस्तरमा गैरसरकारी संस्थाहरुलाई सहयोग माग्नुपर्ने पनि बताए । उनले यसमा समूदाय र सामुदायिक संस्थालाई परिचालित गर्नु सरकार तयार भएमा नागरिक समाज पनि तयार रहेको बताए ।
उनले सरकारको आलोचना भन्दापनि महामारीको विरुद्धमा कसरी लड्ने भन्नेमा सचेत हुनु आजको आवश्यकत्ता रहेको बताए । सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गर्दै उनले यो लडाई जितेमा सारा नेपालीको जीत हुने विश्वास व्यक्त गरे ।