कोरोनाका नाममा कालोबजारी र कृत्रिम अभाव बढाउनेविरुद्ध लाग्न कांग्रेसको आग्रह
प्रकाशित २०७६ चैत ५ बुधबार
695
Shares
काठमाडौं । नेपाली काँग्रेसले कोरोना भाइरसको नाममा फैलिएको कालोबजारी र कृत्रिम अभाव बढाउनेहरुविरुद्ध लाग्नका लागि पार्टीका सबै तह र तत्काका कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह केसीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको महामारीले सिङ्गो विश्व आतङ्कित छ । नेपालभित्र हालसम्म केस रेकर्ड भई नहाले पनि उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ । यो महामारीले एकातिर ठूलो मानवीय क्षति भएको र थप अकल्पनीय क्षतिको सन्त्रास फैलिएको छ भने अर्कातिर कतै लक्ड डाउनका कारण उपभोग्य सामग्रीको साँच्चै अभाव त कतै कृत्रिम अभाव र कालोबजारीले जनजीवन कष्टकर हुदै गएको समाचारहरू आइरहेका छन् ।’
अगाडि भनिएको छ, ‘सङ्कटको यो घडीमा सबैले संयम, सतर्कता र सावधानी अपनाउनु आवश्यक छ । यसको सङ्क्रमण फैलिन नदिन अनावश्यक भ्रमण नगर्नु, भीडभाड र जमघट नगर्नु र खानपान तथा सरसफाइमा सतर्कता अपनाउनुपर्दछ । नेपाली कांग्रेस नुवाकोट यसका लागि सबैमा हार्दिक अपिल गर्दछ ।’
केसीले जारी गरेको विज्ञप्तिमा, ‘कोरोना भाइरसको सङ्क्रमण र अभावजन्य समस्याबाट आफू बच्नु र अरूलाई बचाउनु सबैको कर्तव्य हो । यो हाम्रो मानवीय धर्म पनि हो । यही शास्वत कर्तव्यलाई मनन् गरी आफ्नो छरछिमेक र वरपरको हालखबर बुझ्ने, वृद्धवृद्धा र बालबालिकालाई सहयोग गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव हुन नदिनेजस्ता कार्य गरी सामाजिक दायित्व निर्वाह गर्न पार्टीका सबै तहका कार्यकर्ता र शुभेच्छुकहरूमा नेपाली कांग्रेस आह्वान गर्दछ’ भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका स्थानीय समिति हरूले स्थानीय संघसंस्थाहररूलाई समेटी आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन अनुरोध गर्दछ । विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरूलाई सम्बन्धित मुलुकहरूमा रहेका नेपाली दूतावासहरूसँग समन्वय गर्नुहुन र केही समस्या भए आफूले चिनेको कुनै पनि कांग्रेस नेतृत्वसँग इनबक्स सम्पर्क गरी जानकारी गराउनुहुन पनि नेपाली कांग्रेस यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछ ।’