गोकुलको नाममा छिमेकीलाई सास्ती, क–कसको कति क्षति ?
प्रकाशित २०७६ फागुन २८ बुधबार
1.2k
Shares
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको घरभित्र कैद हुन वाध्य पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको बन्दै गरेको घरमा बुधबार बिहान विष्फोट भएपछि उनको भन्दा छिमेकीको घरमा बढी क्षति पुगेको छ ।
भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको निर्माणाधीन घरमा विष्फोट हुँदा दक्षिण पूर्वपट्टीको गेटमा क्षति पुगेको छ भने थपिएका दुई तल्लामा शीशा नभएकाले खासै क्षति भएको छैन ।
तर छिमेकमा तीन घरमा भने उनको भन्दा बढी क्षति भएको छ । भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीका अनुसार बिहान ८ बजेतिर भएको विष्फोटबाट तीन घरमा क्षति पुग्नुका साथै एउटा कारमा पनि क्षति पुगेको छ ।
बाँस्कोटाको घरको पूर्वपट्टी कपिलदेव घिमिरेको चार तलाको घरका भर्याङका शीशा फुटेका छन् । बम पड्केको साइडतिरका शीशा फुटेका हुन् । त्यसैगरी सोही घरमा डेरा लिएर बस्दै आएका सुरेन्द्र खड्कीको एउटा बा १९ च ४७८१ नम्बरको मारुती भ्यानमा क्षति पुगेको छ । कारका झ्यालका शीशा फुटेका छन् ।
त्यस्तै उत्तरपट्टी कुवेर केसीको घरमा शीशा फुटेको छ ।