नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीको भुमिका विषयमा बनारसमा चर्चा, के भने डा. शशांकले ?
वीएचयूमा वीपी कोइरालाको नाममा अनुसन्धान केन्द्र खोल्न प्रस्ताव
प्रकाशित २०७६ फागुन २५ आइतबार
497
Shares
वाराणसी। नेपाल अध्ययन केन्द्र काशी हिन्दु बिश्वबिद्धालय र नेपाल विद्यार्थी संघ भारतको आयोजनमा 'नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भुमिका' बिषयमा अन्तरराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ। गोष्ठीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले आफ्नो बाल्यकालदेखि बिश्वबिद्यालयसम्मको जीवन बिताएकोले वाराणसीसंग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताए।
नेपालमा तत्कालिन जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनार्थ संघर्षका दिनहरुमा काशी क्षेत्रले निकै ठूलो योगदान गरेको कुरा औंल्याउदै कोइरालाले नेपाल र बनारसको बहुआयामिक सम्बन्धहरुले समग्र नेपाल भारतको सम्बन्धलाई उचाई दिने काम गरेको बताए।
भारतका प्रसिद्ध समाजबादी चिन्तक तथा जय प्रकाश नारायण बिश्वबिद्यालयका पूर्ब उपकुलपती प्रोफेसर हरिकेश सिंहले नेपालमा प्रजातन्त्र स्थापना गर्न अत्यन्तै ठूलो भुमिका निर्बाह गरेका वीपी कोइरालाले भारतको स्वतन्त्रताको लागि पनि योगदान दिएको उल्लेख गर्दै उहाको नाममा काशी हिन्दु बिश्वबिद्यालयमा अनुसन्धान केन्द्र स्थापना गरि अनुसन्धानको कामलाई अगाडि बडाउनु पर्ने बताए।
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले 'दक्षिण एसियामा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ' भन्ने शिर्षकमा आफ्नो भनाई राखेका थिए। केन्द्रीय सदस्य दिपक गिरिले नेपाल र बनारसका बहुआयामिक सम्बन्धहरुको बारेमा चर्चा गरे। अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाले सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरे। पूर्व अर्थ राज्यमन्त्री उदय समशेर राणाले नेपालको परिप्रेक्ष्यमा आर्थिक प्रजातन्त्रको अवस्थाका बारेमा आफ्ना भनाई राखेका थिए।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एबम नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्पर्क समिती भारतले प्रजातान्त्रिक आन्दोलन खेलेको भुमिका र भारत नेपालको समन्धको बारेमा बोलेका थिए।
कार्यक्रममा भारतको राज्य सभाका पुर्व साम्सद आनन्द भास्कर रापुलु, बनारस हिन्दु युनिभर्सिटीका डिन प्रो. एम के सिंह , विभिन्न बिभागका संकाय प्रमुखहरु, वाराणसिका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु विभिन्न पार्टिका नेताहरु, विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरु, बिश्वबिद्धालयका बिद्यार्थीहरु गरि करिव ३०० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन नेपाल अध्ययन केन्द्र, काशी हिन्दु बिश्वबिद्धालयका संयोजक प्रो. बिबि सिंह र नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सूर्य न्यौपानेले गरेका थिए।