कोरोनाका कारण होली नखेल्न प्रशासन कार्यालयले जारी गर्यो सूचना
प्रकाशित २०७६ फागुन २२ बिहिबार
559
Shares
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस बर्षको होली आयोजना नगर्न सूचना जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायत उत्सव, मेला तथा पर्व आयोजना नगर्न सूचना जारी गरेको हो ।
छिमेकी मित्र राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरनाबाट नेपाल उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठले चेतावनी दिएको छ ।
प्रशासकीय अधिकृत मान बहादुर बुढाद्वारा विज्ञप्तिमा भनिएको छ,' नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा काठमाडौं जिल्लामा अर्को निर्णय नभए सम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली लगायतका कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।'
नेपालमा अहिलेसम्म २३ जनाको कोरोना परीक्षण गरिएको छ । एक जनालाई संक्रमण भएको छ । उनी ठीक भइसकेका छन् । २२ जनामा भने संक्रमण नदेखिएको चिकित्सकले बताएका छन् । चार जनाको परीक्षण भइरहेको छ । उनीहरुको बिहीबार साँझसम्ममा रिपोर्ट आउने डा अनु बास्तोलाले बताए । चीनबाट ल्याइएका १७५ विद्यार्थी र चालकदलसंगै चिकित्सकको १८ जनाको टोलीलाई १४ दिन क्वारेन्टाइनमा राखिए पनि उनीहरुमा कुनै संक्रमण देखिएन ।
अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ ।