प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण, अहिले आईसीयूमा
प्रकाशित २०७६ फागुन २१ बुधबार
685
Shares
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा आलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ । मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेदेखि शल्यक्रिया सुरुभइ दुई बजे सकिएको थियो ।
शिक्षण अस्पतालका अनुसार चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको हो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाई छ । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा सारिएको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सकहरुको टोली रहेको थियो । त्यसमा तीना भारतीय चिकित्सकसमेत थिए। जसमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना छन् । मिर्गौला प्रत्यारोपणसम्बन्धि केहि समयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने छ ।
सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
देश जनताले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विभिन्न स्थानमा दिप प्रज्वलन तथा दीर्घ जीवनको कामना गरिएको छ ।