पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी १५ वर्षपछि पक्राउ, जेल चलान
प्रकाशित २०७६ फागुन २१ बुधबार
663
Shares
दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपी मध्येका एक जनालाई जिल्ला अदालत दैलेखले १५ वर्षपछि पक्राउ गरेको छ ।
हत्याका मुख्य आरोपी चार जना मध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । खड्का फरार रहेका थिए ।
जिल्ला अदालतका सुचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तबीमा रहेको कर्तव्य ज्यान मुद्धा जगाई मंगलबार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए ।
हत्या आरोपी खड्कालाई कैलाली जिल्लाबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको थियो ।
जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फरार भनिएका खड्कासहित ४ जनालाई हाजिर भएका वा पक्रिएका बखत वा अवधी पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
२०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि जिवीतैखाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।