बर्दगोरियामा नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७६ फागुन २० मंगलबार
467
Shares
बौनिया । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेकपा पार्टीप्रति असन्तुष्ट हुँदै उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
मंगलबार भएको वडास्तरीय कार्यक्रममा नेकपा पार्टी छोडेर ९ जना नेकपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा नम्बर-३ का वडा सभापति नन्दाराम बिष्टको सभापतित्व तथा क्षेत्रीय सदस्य सिद्धराज ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँकार्यसमिति सदस्य पहराम बुढा रहेका थिए । उनीहरूलाई पार्टीमा वडा सभापति बिष्ट र कांग्रेस क्षेत्रीय सदस्य ढुंगानाले पार्टीको सदस्यता प्रदान गरी प्रवेश गराएका थिए ।
कार्यक्रममा पार्टी प्रवेश भएपछि उनीहरूलाई स्वागत तथा धन्यवाद दिँदै आगामी दिनमा राष्ट्रियता र लोकतान्त्रिक मूल्य, मान्यतालाई आत्मसात गरेर अगाडी बढ्न आग्रह गरे । अहिलेको दुईतिहाइ जनमत प्राप्त कम्युनिस्ट सरकारले जनताको हितमा काम गर्न नसकेको, जतासुकै भ्रष्टाचार र कमिसनतन्त्र बढ्न थालेको बताए । वर्तमान कम्युनिस्ट सरकारमा रहेका मन्त्री र जिम्मेवार नेताहरू एकपछि अर्को काण्डमा मुछिदै आरोप खेपिरहेका बेला यो सरकारले जनताका पक्षमा काम गरिरहेको छ कि छैन ? भन्ने स्पष्ट भइसकेको बताए ।
पार्टीमा प्रवेश भएसंगै उनीहरूलाई टोल कमिटीको जिम्मेवारी समेत दिइएको छ । खैरेनी प्रतिटोलमा प्रकाश जोशीको सभापतित्वमा ११ सदस्यीय टोल कमिटी गठन गरिएको हो । जसको सदस्यहरुमा प्रकाशराज भारती, नवीन साउँद, कल्पना बुढा, हिमाल बुढा, जयबहादुर कठायत, लहबिरे नेपाली, लालसिंह विश्वकर्मा, रवि जोशी, जानकी बुढा, गणेश मल्ल रहेका छन् ।
उनीहरूले आगामी दिनमा पार्टीमा क्रियाशिल भएर सामाजिक विकास निर्माण तथा जनताको पक्षमा सक्रिय हुँदै काम गर्ने प्रतिबद्धता जनाए । नेकपाभित्र रहेर काम गर्दा आफूहरुलाई सम्मान नभएको, पार्टीभित्र राजनीतिक बिचलन आएको, क्षमतावानलाई पन्छाएर आफ्ना नजिककालाई प्राथमिकता दिने र पुराना कार्यकर्तालाई वेवास्ता गरिएकाले त्यस्तो पार्टीमा रहेर काम गर्न नसकिने भन्दै कांग्रेसमा प्रवेश गरेको उनीहरूले बताए । कार्यक्रममा क्रियाशिल सदस्य टंकबहादुर कुंवर, टेकराज जोशी लगायतले धारणा राखेका थिए । कार्यक्रमको संचालन वडा कार्यसमिति सचिव शिखर विश्वकर्माले गरेका थिए ।