संविधानले सुम्पेका जिम्मेवारी निर्वाह गर्नेछौं : प्रधानसेनापति थापा
रासस
प्रकाशित २०७६ फागुन १५ बिहिबार
976
Shares
नेपालगञ्ज। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताएका छन्। आज नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘‘हाम्रा पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेका छौँ र रहनु पर्दछ।’
राष्ट्रिय एकता नै नेपाली सेनाको शक्ति र सुरक्षाको प्रमुख आधार भएको उल्लेख गर्दै प्रधानसेनापति थापाले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको बताए। उनले देशमा पहिचान भएका ऐतिहासिक धरोहरहरुको मर्मतसम्भार गर्ने, युद्ध सङ्ग्रालय संस्कृतिको विकास गर्ने तथा नेपाल भ्रमण वर्षलाई समेत टेवा पुर्याउने उद्देश्यले यस वर्ष सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण, काभे्रको पृथ्वीगढी थुम्कामा भ्यू प्वाइन्ट निर्माण तथा पाल्पा दरवारमा शस्त्रअस्त्र कक्ष निर्माण कार्य शुरु भएको जानकारी दिए। बारामा यसै वर्षबाट युनिफिकेशन मेमोरियल पार्क निर्माण कार्यको थालनी गरिएको पनि उनले उल्लेख गरे।
प्रधानसेनापति थापाले सेवानिवृत्त भएका पूर्व सैनिकहरुको आर्थिक सामाजिक जीवनस्तर अभिवृद्धिका लागि सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधार र सहुलियतलाई बढाउँदै लगिएको र यसलाई पूर्व सैनिकको घरदैलामै पुर्याउने गरी सेवा विस्तार र विविधीकरण गरिएको बताए। हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ।
सो अवसरमा प्रधानसेनापति थापाले घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुक एकल महिला एवं सैनिक परिवारका सदस्यलाई चेक हस्तान्तरण गरेका थिए। सम्मेलनमा सहभागी बाँके, बर्दिया र हुम्लाका सेवानिवृत्त सैनिक र तिनका परिवारहरुसँग प्रधानसेनापति थापाले सामूहिक र एकल रुपमा भेट गरी उनीहरुका समस्या अवगत गरेका थिए।
सम्मेलनमा बलाध्यक्ष रथी गौरव तण्डुलले सैनिक कल्याणकारी कोषमा हालसम्म जम्मा भएको रु ५० अर्बबाट विभिन्न कल्याणकारी सेवामा लगानी गरिएको उल्लेख गर्दै भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी(अवकाशप्राप्त) केशवबहादुर भण्डारी र अवकाश प्राप्तबाटतर्फबाट रथी नेपालभूषण चन्दले पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी काम बारेमा प्रकाश पारेका थिए।
‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको कृति, वेशभूषा झल्किने गरी मयुर नाच, थारु, लाठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो।
यसैबीच प्रधानसेनापति थापाले आजै नेपालगन्जस्थित नेपाली सेनाको कौशिलानगर व्यारेकमा नेपाली सैनिक पश्चिम लजिष्टिक वेशको पनि उद्घाटन गरे। नेपाली सेनाका लागि आवश्यक बन्दोवस्तीका सम्पूर्ण सामग्रीहरुको उपलब्धता, मर्मतसम्भारलगायतका सेवाहरु प्रदान गर्ने गरी राजधानीबाहिर पहिलोपटक सो वेश स्थापना गरिएको हो।
सत्तरी रोपनी क्षेत्रफलमा उत्तर पश्चिम पृतना र सुदूरपश्चिम पृतनाअन्र्तगतका युनिटहरुलाई लक्षित गरी क्षेत्रीयस्तरमा सो लजिस्टिक डिपोर्टको स्थापना गरिएको हो।