पार्टी निर्णय मान्न ओलीलाई वाध्यता, नमाने सरकारबाटै हट्नुपर्छ
प्रकाशित २०७६ फागुन १५ बिहिबार
527
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले पार्टीको निर्णय मान्न प्रधानमन्त्री केपी शर्मा ओली वाध्य भएको बताएका छन् ।
पार्टी सचिवालय बैठकले बुधबार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा नलैजाने र अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि ज्ञवालीले निकै नम्र भाषामा ओलीले पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन् ।
नेपाली रेडियो नेटवर्क‘संग बिहीबार कुराकानी गर्दै ज्ञवालीले पार्टीको निर्णय मान्न राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म मान्न वाध्यकारी हुने बताए ।
उनले भने, ‘पार्टीले राष्ट्रपति बनायो, पार्टीले प्रधानमन्त्री बनायो । सरकारभन्दा पार्टी ठूलो हुन्छ । पार्टीले सरकार बनाउने हो । पार्टीको निर्णय मान्न सरकार वाध्य हुन्छ ।’
ज्ञवालीले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय पार्टीको सचिवालयमा सर्वसम्मत भएकाले त्यो निर्णय कसैले काट्न नसक्ने बताए ।
बाहिर आएका कुराहरुमा सत्यता नभएको स्पष्ट पार्दै ज्ञवालीले त्यसको निर्णय नमान्ने भन्ने प्रश्नै नआउने स्पष्ट पारे ।
पार्टी निर्णय नमाने हट्न सक्छन् ओली
लोकतन्त्रमा पार्टीले सरकार चलाउँछ । त्यसैले पनि सरकारमा गएपछि प्रधानमन्त्री तानाशाही हुन पाउँदैन । त्यही मर्मलाई अहिले नेकपाका नेताहरुले अनुकरण गर्न थालेका छन् ।
तर पहिले नै वामदेवलाई प्रधानमन्त्रीसम्म बनाउनका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्नका लागि संविधान संशोधन गर्नका लागि समेत राजी भएका ओलीले एकाएक कुरा फेरेपछि उनलाई हटाउन सक्ने तागत पार्टीले राख्न थालेको छ ।
पार्टी निर्णय कार्यान्वयन नगरे ओलीलाई पदबाट हटाउने तयारी गरेको समेत खुल्न आएको छ ।
ओलीले सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएसंगै सचिवालयका अन्य सदस्यहरुले पनि ओलीलाई हटाउन सक्ने सम्मको चेतावनी दिएको बुझिएको छ ।
सचिवालय बैठक लगत्तै बरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर ओलीले ‘मलाई घेराबन्दी भयो’ भन्दै ओलीले सचिवालयको निर्णय कार्यान्वयन नगर्ने बताएको बुझिएको छ ।
ओली सरकार भ्रष्टाचार काण्डमा मुछिएपछि सचिवालय सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष गौतमबीच भएको छलफलमा सरकार फेर्नेसम्मको समझदारी भएको बताइन्छ ।
भ्रष्टाचार काण्डमा फसेका निवर्तमान संचार मन्त्री गोकुल बाँस्कोटाबारे पार्टीले समेत छानबिन गर्न नपर्ने भनी ओलीले भनेपछि नेकपाभित्रको सरकार बाहिरको खेमा ओलीलाई नै यो काण्डको मुख्य योजनाकार रहेको आशंका गरिरहेको छ ।
ओली एकपछि अर्को काण्डमा फसेपछि उनलाई हटाउनेसम्मको खेल भइरहेको बुझिन्छ । उनले पार्टीको निर्णयसमेत तोड्दै आइरहेका छन् ।
ओलीले यती होल्डिङ्सलाई नेपाल ट्रष्टको जग्गा सित्तैमा दिएपछि पनि चर्को आलोचनाको पात्र बनेका छन् ।
राज्यको सम्पत्ति दुरुपयोग भएको निष्कर्ष धेरेको छ ।
त्यही यतीकै केक काटेर उनले आफ्नो ६९ औं जन्मोत्सव मनाएपछि ओलीको नियत दूनियाँले थाहा पाएको हो ।