प्रधानमन्त्रीले फेरी वामदेवलाई दवाए, खतिवडा नै राष्ट्रियसभा सदस्य
प्रकाशित २०७६ फागुन १४ बुधबार
570
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने निर्णय तुहिने अवस्थामा पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकृत गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्ने निर्णय तुहिए समान बनेको हो ।
बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री ओलीले पार्टीको निर्णय आउनु अघि नै मन्त्रीपरिषदले अर्थमन्त्री युवराज खतिवडालाई म्याद थपका लागि सिफारिस गरिसकेको बताएका छन् । राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य भएका युवराज खतिवडाको पद केही दिनपछि रिक्त हुँदैछ।
गत पुस १८ गते नै नेकपा सचिवालयका अर्का सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा जानका लागि तयार भएसंगै चुनाव जितेर सांसद पनि भएका छन् । श्रेष्ठसंगै वामदेवलाई लैजान खोजिए पनि उनी मानेनन् ।
यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताएका थिए। अब भने उनी राजी भएका छन् । तर ओली तयार देखिएका छैनन् ।