निष्ठावान कांग्रेस नेता भागवत ज्ञवाली रहेनन्, देउवाद्धारा भावपूर्ण श्रद्धाञ्जली
चन्द्र भण्डारी पनि दुःखी, गुल्मीले एकै वर्ष दुई सादगी नेता गुमायो
प्रकाशित २०७६ फागुन ६ मंगलबार
349
Shares
काठमाडौं । विश्वेश्वर प्रसाद कोइरालासंग संगसंगै काम गरेका प्रजातान्त्रिक आन्दोलनका योद्धा भागवत ज्ञवालीको निधन भएको छ । निष्ठावान चरित्रका कांग्रेस नेता ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।
उनी नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति समेत थिए ।
२००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवाली २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। ।
उनका श्रीमती दुई छोरा र तीन छोरी छन् ।
देउवा मर्माहत
ज्ञवालीको निधनप्रति नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले सामाजिक संजाल फेसबुक मार्फत निष्फावान नेता गुमाएकोमा दुःख व्यक्त गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति ,प्रतिनिधिसभाका पूर्व सदस्य, लोकतान्त्रिक आन्दोलनका योद्धा, निष्ठावान नेता भागवत ज्ञवालीको निधनको खवरले मलाई अत्यन्त दुःख लागेको छ । दुःखको यस घडीमा स्वर्गीय भागवतजी प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
चन्द्र भण्डारीको पनि समवेदना
सादगी नेता भागवत ज्ञवालीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मीका पूर्व सांसद चन्द्र भण्डारीले पनि सम्झेका छन् ।
उनले फेसबुकमार्फत सम्झदै लेखेका छन्,‘प्रजातान्त्रिक योद्धा, नेपाली कांग्रेसका वौद्धिक, शालिन नेता, गुल्मी कांग्रेसका सँस्थापक पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य ९२०४८० भागवत ज्ञवालीको आज विहान अल्का हस्पिटलमा निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको छ । यो दुखको घडिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
ज्ञवालीको निधनप्रति कांग्रेसका धेरै नेताहरुले दुःख व्यक्त गरेका छन् ।
गुल्मीले एकै वर्ष दुई सादगी नेता गुमायो
ज्ञवालीलाई मंगलबार मात्र गुमाएको कांग्रेसले गत भदौमा अर्का सादगी नेता रुद्रमणि भण्डारीलाई गुमाएको थियो ।