पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध दर्शनलाई व्यावहारिक रुपमा अनुसरण र कार्यान्वयन गर्न सके त्यसले विश्वमा शान्ति स्थापना गर्न सकिने बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आजदेखि शुरु तीन दिने विश्वशान्ति पूजाको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा देखिएको गरिबी र बेरोजगारी जस्ता समस्या समाधानका लागि शान्ति आवश्यक छ भने ।
प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले चोखो मनले गरिने हरेक गतिविधिले विश्वमा शान्ति एवं समृद्धि प्राप्त गर्न सहयोग पुग्ने बताउँदै बौद्ध दर्शनलाई आत्मसात गर्नुपर्ने बताए । विश्वशान्ति पूजा आयोजक समितिका संयोजक हरिध्वज तुलाचनले पूजाले राष्ट्रिय एकता कायम गर्न प्रेरणा दिने बताउँदै एक मानवले अर्को मानवलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन विभागका मीरा आचार्य, शान्ति पूजा आयोजक समितिका सहसंयोजक राजेन्द्र सापकोटा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पर्वतारोहण सङ्घका दिनेश गुरुङ, पोखरा १७ का अध्यक्ष तीर्थ अधिकारीलगायतले विश्वमा शान्ति स्थापना गर्न यस्ता धार्मिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
रिन्पोछे महायोगी श्रीधर राणासहित ६० बढी लामा गुरुबाट शान्ति कामनासहित गरिने प्रवचनमा ५०० भन्दा बढी बुद्ध दर्शनसँग सम्बन्धित पुस्तक वाचन गरिनेछ । यसअघि लुम्बिनीबाट ल्याइएको शान्तिदीप प्रदेश प्रमुख शेरचनले लिएर शान्ति र्यालीमा सहभागी बनेका थिए ।
हल्लनचोकबाट शुरु भएको शान्ति र्याली बाराहीचोक, रत्नमन्दिर, अम्बोट, सहिदचोक, मुस्ताङचोक, आँखा अस्पतालचोक हुँदै पर्वतीय सङ्ग्रहालयमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी आमा समूह, टोल विकास संस्था, लामा गुरु, जनप्रतिनिधिले बुद्ध दर्शनका पुस्तक काङग्युर तथा तेन्ग्यूर टाउँकोमा राखेर शान्तिको सन्देश दिएको थिए ।