कागजमा लोकतन्त्र राख्दैमा जनताका अधिकार सुरक्षित हुदैन : विश्वप्रकाश शर्मा
रासस,
प्रकाशित २०७६ माघ १८ शनिबार
702
Shares
काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन्। सेन्टर फर डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले बोल्न, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न र निजी सम्पत्ति जोड्न पनि लोकतान्त्रिक व्यवस्थाको विकल्प नभएकामा जोड दिए।
लोकतान्त्रिक संस्कृतिकै लागि प्रतिपक्षमा भएर पनि काँग्रेसले जिम्मेवार राजनीतिक दलको भूमिकामा लागेको प्रवक्ता शर्माले सुनाए। राणा, पञ्चायत र राजाले समेत लोकतन्त्रमाथि आक्रमण गर्दा टिक्न नसकेको इतिहास अध्ययन गरेर सच्चिन उनले सरकारलाई सुझाव दिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थाल्नु समृद्ध मुलुक निर्माणका लागि सकारात्मक हुन नसक्ने बताए। चुनाव महँगो हुँदै जाँदा राजनीतिक भ्रष्टाचार बढ्नुले पनि लोकतन्त्रमाथि कालो बादल मडारिए जस्तै भएको उनको भनाइ थियो।
वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रदेश नं ३ को नामकरणका सन्दर्भमा नेकपाको सचिवालयले निर्णय गरेर प्रदेशसभामा पठाउनुले लोकतान्त्रिक अभ्यासको चित्र प्रस्तुत गरेको बताइन्। कार्यक्रममा आयोजक समितिका अध्यक्ष भरत बडायर जोशी, महासचिव विकल राईलगायत युवाले लोकतन्त्रमाथि भइरहेको आक्रमणका बारेमा साप्ताहिकरुपमा बहस गर्दै जाने जानकारी गराएका थिए।