वुहानका नेपालीलाई उद्दार गर्न सरकारसँग देउवाको अनुरोध
कोरोना संक्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल
प्रकाशित २०७६ माघ १७ शुक्रबार
767
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वुहानका नेपालीलाई उद्दार गर्न सरकारसँग अुरोध गरेका छन् । कोरोना संक्रमणबाट सतर्कताका लागि शुक्रबार सार्वजनिक अपिल गर्दै देउवाले यस्तो अनुरोध गरेका हुन् । चीनको वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कयौको मृत्यु भईसकेको छ भने यसवाट हजारौं संक्रमित भएका छन् ।
देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' कोरोनाका कारण जीवन गुमाएका सवै चीनियाँ नागरिकको परिवार र चीन सरकारप्रति नेपाली कांग्रेसका तर्फवाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागी चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंशा गर्दछु । अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन शुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्य बारे सजग गराउंदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।'
नेपाल देशले राख्नु पर्ने सतर्कतामा कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कता बारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी छ । नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न देउवाले नेपाली कांग्रेसका तथा सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह गरेका छन् ।
नेपाल प्रवेशका सबै अन्तराष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न देउवाले अपिल गरेका छन् । 'कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दु:खद र आपत्तिजनक छ,' देउवाले जारी विज्ञप्तिमा उल्लेख छ 'कोरोना भाईरसको संक्रमणबाट जोगाउंदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।'
वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता देउवाले औंल्याएका छन् ।
संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता रहेको देउवाको ठहर छ । यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न उनले सरकारलाई सचेत गराएका छन् । सभापति देउवाले कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपुर्वक सतर्कताका लागि नेपाली कांग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी दाजुभाइमा बिशेष अपिल पनि गरेका छन् ।