घरभित्र जलेको अवस्थामा तलामयी फेला, पैनीमा सिद्धार्थ
रासस,
प्रकाशित २०७६ माघ १७ शुक्रबार
506
Shares
झापा । झापाको बाह्रदशी गाउँपालिकामा शुक्रबार एक महिला मृतवस्थामा फेला परेकी छन् ।
बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७:३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै घरभित्र मृतावस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरभित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा खटिएको अनुसन्धान टोलीले मृतकको कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि मेची अस्पताल भद्रपुरमा पठाएको उनले बताए ।
यसैबीच झापाको शिवसताक्षी नगरपालिका–७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको पैनीमा डुबेर मृत्यु भएको छ ।
बिहीबार घरदेखि ५० मिटरको दूरीमा रहेको पैनीमा डुबिरहेको अवस्थामा बालककै बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारका लागि बिएन्डसी अस्पताल लगेकामा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए ।