अख्तियारका सचिवलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश
हाम्रा कुरा
प्रकाशित २०७६ माघ १६ बिहिबार
654
Shares
काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एक मुद्दाको फाइलसहितको अभिलेख १५ दिनभित्र लिएर उपस्थित हुन आदेश जारी गरेको छ। न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको पूर्ण इजलासले आज अख्तियारका सचिव न्यौपानेलाई मुद्दाको अभिलेखसहित आफै इजलासमा उपस्थित हुन आदेश जारी गरेको हो।
अदालतले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेखसहित माग गरेको हो। आदेशमा भनिएको छ, “कागजात अभिलेख खोजी गरी पेश गर्न १५ दिनको समय प्राप्त हुने गरी यो मुद्दामा पेशी तोक्नु र सो पेशीका दिन आयोगका सचिव स्वयम् निर्णय फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रुपमा उपस्थित हुनु।”
सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने आदेशमा उल्लेख छ।