क्षमतावान युवालाई पार्टीको नेतृत्व दिउँ : कृष्णप्रसाद सिटौला
'घरमुली भएपछि सभापतिले सबैलाई मिलाएर हिँड्नुपर्छ'
प्रकाश मैनाली,
प्रकाशित २०७६ माघ १६ बिहिबार
408
Shares
सर्लाही। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घरमुली भएपछि सभापतिले सबैलाई मिलाएर लान सक्नुपर्ने बताएका छन्। नेपाल तरुल दल नगर समितिले आज सर्लाहीको लालबन्दीमा शहीद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिटौलाले गुट–उपगुट भन्दा पनि क्षमता अनुसार जिम्मेवारी बाँडफाँड हुनुपर्ने बताए।
उनले गाउँ तथा नगरदेखि केन्द्रसम्मका सभापतिलाई एकलौटी किसिमले नभई सबैलाई समेटर अघि बढ्न आग्रह गरे। ईतिहासमा यसो गर्यो उसो गर्यो भनेर मात्रै कांग्रेस अगाडि बढ्न नसक्ने भएकाले अब क्षमतावान युवालाई नेतृत्व दिएर पार्टीलाई गतिशील बनाउनु पर्नेमा जोड दिए।
पूर्वमन्त्री समेत रहेका नेता सिटौलाले पार्टीले दह्रोसँग प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरे। सरकार अलोकतान्त्रिक किसिमले अघि बढिरहेकाले त्यसका विरुद्ध सडकदेखि सदनसम्म संघर्ष गर्ने बेला आएको कांग्रेस नेता सिटौलाको भनाई छ।
सरकारले अहिले न्यायालय, सञ्चार र कर्मचारीलाई नियन्त्रणमा लिएर दुई तिहाईको दम्भ देखाइरहेको सिटौलाको आरोप छ। तरुल दल लालबन्दी नगर समितिका सभापति सुदेश ढुङ्गानाको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिना उपाध्याय, तरुल दलका केन्द्रीय सभापति जितजङ शाही, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ लगायतले मन्तव्य राख्दै पार्टीको भित्रको विवाद अन्त्य गरी खरो रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीका प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, गाउँ तथा नगर र जिल्ला स्तरका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।