काठमाडौं । पत्रकारिताका धरोहर पन्नालाल गुप्ता अर्थात् चाचाजीको निधन भएको छ । ९२ वर्षीय वरिष्ठ पत्रकार गुप्ताको बुधबार राति निधन भएको बताइएको छ ।
बुधबार दिउँसोतिर बान्ता भएपछि उपचारका लागि भेरी प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारकै क्रममा निधन भएको हो ।
परिवारका अनुसार चाचाजी अचेत भएपछि अस्पताल पुर्याए लगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
चाचाजीका छोरा विजयका अनुसार कमजोर शरिरका कारण हिड्न नसक्ने भएपछि उनी विगत तीन वर्षयता घरमै आराम गरिरहेका थिए ।
चाचाजी
नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष, पत्रकार महासंघ बाँकेका पूर्वसभापति समेत हुन् । चाचाजीले प्रकाशन तथा सम्पादन गर्ने ‘किरण साप्ताहिक’ पश्चिम नेपालकै पुरानो र चर्चित पत्रिका हो ।
यही पत्रिकामार्फत नै चाचाजीले सयौं पश्चिमेली युवालाई पत्रकारिताका कखरा सिकाएका थिए ।
शुक्रबार दाहसंस्कार
चाचाजीको पार्थिव शरिरलाई नेपालगन्जको रानी तलाउस्थित पुरानो घरमा राखिएको छ ।
बिहीबार बिहान अन्तिम श्रद्धाञ्जली दिएर धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिने परिवारले जनाए पनि बिहीबार पञ्चक परेकाले शुक्रबार बिहानमात्र हुने भएको छ ।
उनका श्रीमती, चार छोरा र एक छोरी छन् ।
प्रेस युनियनद्धारा शोक व्यक्त
नेपाल प्रेस युनियन बाँकेका संस्थापक चाचाजीको निधनले नेपाल प्रेस युनियन स्तव्ध भएको छ । युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले पत्रकारिताका धरोहर चाचाजीको निधनले सिंगो प्रेस युनियन स्तब्ध भएको जनाएका छन् ।
चाचाजीको सम्मान
प्रेस युनियन बाँके शाखाले संस्थापक अध्यक्ष चाचाजीको सम्मान स्वरुप तीन वर्षअघि ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ स्थापना गरेको थियो ।
यस्तै युनियन बाँकेले चाचालाई रथारोहण सहित नेपालगन्जमा भब्य नागरिक अभिनन्दन समेत गरेको थियो।
चाचाजीके निधनप्रति पत्रकार, नागरिक अगुवा, राजनीतिकर्मी लगायत सबैले श्रद्धाञ्जली ब्यक्त गरेका छन्।