प्रदेश नं ५ को प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै आइतबार स्थगन भएको छ । प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै अनूभवि राजनीतिज्ञ बलदेव शर्मा पोखरेलको निधनले प्रदेशलाई अपुरणीय क्षति भएको उल्लेख गरे ।
प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।
समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
विसं २०१४ मा नेपाली काङ्ग्रेसमा आवद्ध भई विसं २०१७ देखि विसं २०२१ सम्म जेल जीवन व्यतित गरेका र भूमिगत राजनीतिक जीवनसमेतको अनूभव हासिल गरेका पोखरेल विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिई प्रवासबाट फर्केर पार्टीमा क्रियाशिल भएको बताइएको छ ।
नेता पोखरेल प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य थिए । उनप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो ।