के वास्तवमै रोहित शर्मा र विराट कोहलीबीच तिक्तता थियो ? बोले रोहित
प्रकाशित २०७६ पुष २४ बिहिबार
506
Shares
काठमाडौं । एकदिवसीय विश्वकप २०१९ पछि रोहित शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली बीचको तनावपूर्ण सम्बन्धको बारेमा धेरै कुरा बाहिर आए। यो त्यस्तो विषय मध्ये एक हो जसबारे जानेर भारतीय क्रिकेट फ्यानहरू चकित भए।
कुनै बेला विराट र रोहितबिच राम्रो नभएको र दुवैले एक अर्कालाई सोशल मिडिया एकाउण्टबाट हटाएका छन् भन्ने पनि समाचारहरु आएका थिए । त्यो समयमा रोहितले अनुष्कालाई इन्स्टाग्रामबाट पनि हटाए, जस पछि अझ धेरै अडकल काट्न थालियो ।
रोहित शर्माले पीटीआईलाई विराटसँगको सम्बन्ध र त्यतिबेलाको वातावरणको बारेमा कुरा गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वर्ष पूरा गरिसकेका रोहितले भने, 'यस विषयमा के लेखिएको छ त्यसप्रति म धेरै सतर्क छु। जब मेरो परिवारलाई यस मामिलामा घिस्याइएको थियो म अत्यन्त दुखी भएँ।'
उक्त घटनाको बारेमा कुरा गर्दै रोहितले भने, ' विराटले केही नराम्रो महसुस गरेको हुनुपर्छ किनभने उनकी पत्नी अनुष्का शर्मालाई पनि यस मामिलामा संलग्न गरिएको थियो ।'
रोहित शर्माले भने, 'विश्वकपको दौरान हाम्रो परिवार हामीलाई सपोर्ट गर्न उपस्थित थियो । जब यस्तो कुरा हाम्रो बारेमा लेखियो तब मेरा केहि साथीहरूले मलाई यस बारेमा जानकारी दिए । विश्वास गर्नुस वा नगर्नुहोस्, म ती कुरा सुनेर हाँस्न थाले । पछि अझै यो क्रमस बढ्यो र हाम्रो परिवार पनि यसमा तानियो। तपाईं मेरो बारेमा कुरा गर्न सक्नुहुन्छ, तर हाम्रो परिवारलाई यसमा तान्नु हुन्न किनभने उनीहरूलाई वास्तवमै यी सबै चीजहरूको बारेमा केही थाहा थिएन। मलाई लाग्छ विराटले पनि मेलै जस्तै महसुस गरेको हुनुपर्छ किनकि हाम्रो परिवार हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा हो।'
यसअघि विराट कोहली र टीम प्रशिक्षक रवि शास्त्रीलाई सो बिषयमा सोध्दा दुवैले यसलाई पूर्ण रूपमा असत्य रहेको बताएका थिए ।
२०१९ रनको हिसाबले यो दुबै खेलाडीहरूका लागि उत्कृष्ट वर्ष थियो। विराट र रोहित गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा रन बनाउने भारतका सबैभन्दा सफल ब्याट्सम्यान थिए, जबकि क्रिकेटको छोटो प्रारूपमा, दुबै रनको हिसाबले एक अर्कासँग मेल खाएका थिए।
गत वर्ष भारतको लागि टेस्ट क्रिकेटमा रोहित शर्मालाई ओपनरको रूपमा प्रयोग गरिएको थियो र उनले उत्कृष्ट प्रदर्शन गरे। उनले दक्षिण अफ्रीका बिरुद्द टेस्ट श्रृंखलामा दोहोरो शतक पनि बनाए। उनी प्लेयर अफ द सीरिज बनेका थिए ।