सीमा अतिक्रमणको मार खेप्दै आएको बिचफाटामा सशस्त्रको क्याम्प बस्दै
प्रकाशित २०७६ पुष २२ मंगलबार
474
Shares
बिचफाटा । कंचनपुरको दक्षिणी भेगको पुनर्वास नगर पालिका ९ स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको क्याम्प बस्ने भएको छ । भारतद्वारा सीमा अतिक्रमणको मार खेप्दै आएको बिचफाटा र ख गाउको मध्य भागमा रहेको जनजागरण सामुदायिक वनको जमिनमा सशस्त्रको क्याम्प बस्ने भएको हो ।
बिगत १६ वर्ष देखि भारतीय अतिक्रमणको सिकार बन्दै आएको बिचफाटा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प बस्ने भए पछि स्थानीयले राहत महसुस गरेका छन् ।
मंगलबार सशस्त्र प्रहरी शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह शाहुले क्याम्प बस्ने स्थानको निरीक्षण गरेका हुन् ।पुस मसान्त भित्र अशास्त्र प्रहरीको क्याम्प बसी सक्ने उक्त स्थानको निरीक्षणमा मंगलबार बिचफाटा पुगेका सशस्त्र प्रहरी शैलेश्वरी गणका एसपी शाहले बताए ।
भारतले सो क्षेत्रमा २०६० सालमा नेपाली भूभागमा पिलर गाढेर प्याराताल सहित १ हजार बिगाहा बेशी भूभागमा अतिक्रमण गरेको थियो । भारतीय पक्षबाट अतिक्रमणको मार खेप्दै आएको पुनर्वासको बिचफाटामा सशस्त्रको क्याम्प बस्ने भए पछि सीमा र स्थानीयको सुरक्षामा सहयोग पुग्ने पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले बताए ।
भारतीय अनाबश्यक हस्तक्षेप रोक्न र सीमाको सुरक्षाका लागि बारम्बार सशस्त्र प्रहरी क्याम्पको माग गर्दै आए पनि अहिले क्याम्प बस्ने भए पछि स्थानीयले समेत राहत पाउने भएको वडा अध्यक्ष नारायण प्रसाद जैसीले बताए । भारतीय पक्षले अतिक्रमण गर्दै आएको यस क्षेत्रमा हामीले बिगत लामो समय देखि स्थापनाको माग गर्दै आएको सशस्त्रको क्याम्प बस्ने कार्यले सीमाको सुरक्षामा सघाउ पुग्ने स्थानिय अमराजन साउदले बताए ।