काडमाडौं।नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद मिलाउने प्रयास जारी रहेको छ । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारदेखि जारी रहे पनि संस्थापन इतर पक्षले बैठक बहिस्कार गरेपछि सहमतिमा ल्याउने प्रयास भइरहेको हो।
सोमबार बिहान कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा उपसभापति विमलेन्द्र निधिलगायतका नेता प्रयास गरिरहेका छन् । छलफलमा केन्द्रीय सदस्य दिलेन्द्र बडु र हृदयराम थानी पनि सहभागी छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि बस्दैछ। महाधिवेशनको विषयले प्रवेश पाउनुभन्दा विभाग गठन गरेर समय लम्ब्याउने स्थिति बनेपछि संस्थापन इतर समूहले बहिस्कार गरेको बैठकमा खासै निर्णय निस्कन सकेको छैन ।
बिहीबारेखि उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बैठक शुरु भएको थियो । बहुमतको आधारमा बैठक अगाडि बढाएर निर्णय गर्न देउवा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा सहभागी भएको छैन । पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन् ।
बहिस्कारबीच पनि बैठक सोमबारसमेत बस्न लागेको हो । आइतबारको बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको थियो। प्रतिवेदनमाथि सोमबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।
देउवाले शुक्रबारदेखि सिटौला र पौडेल पक्षका नेतालाई भेटेर सहमतिमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । सिटौला र पौडेल पक्षको तर्क छ – महाधिवेशन आउन लाग्यो अब विभाग गठन गर्नुको अर्थ छैन । महाधिवेशनका लागि काम थालौं ।
देउवा नेतृत्वको कार्यकाल फागुन २० गते सकिँदैछ । चार वर्षअघि फागुनमा चार वर्षे कार्यकालका लागि चुनावी अधिवेशन भएको थियो ।