प्रहरी अस्पतालमा प्रमुख रिक्त हुँदै, तीन डीआइजीको दौड
प्रकाशित २०७६ मंसिर २९ आइतबार
728
Shares
काठमाडौं। नेपाल प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरको पद रिक्त हुँदैछ। अस्पतालको मेडिकल डाइरेक्टर एआइजी हुन्छन्। हाल एआइजी डा. दुर्गा थापा पुन अस्पतालको मेडिकल डाइरेक्टर छिन्। उनी पुस ४ गते अवकाश हुँदैछिन्। डा.पुनको अवकाशसँगै प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरका आकांक्षीहरुको दौड सुरु भएको छ। प्रहरी अस्पतालको प्रमुखको होला भन्ने चर्चा अहिले अस्पताल परिसरमा चल्न थालेको छ। अस्पतालको मेडिकल डाइरेक्टरको दौडमा ३ जना प्रतिस्पर्धी रहेका छन्। ती मध्ये को बन्ला भन्ने चर्चा चल्न थालेको हो।
वरिष्ठताका आधारमा पहिलो नम्बर डा. मीनराज पाठक रहेका छन् भने दोस्रोमा आशा सिंह र तेस्रोमा सुमनराज श्रेष्ठ छन्। यी तीनै जना डीआइजी हुन्। यी तीनबीच प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर बन्नका लागि अहिलेदेखि नै प्रतिस्पर्धा र लबिङ सुरु भइसकेको छ। पाठक सुदूरपश्चिमका हुन् भने सिंह तराईकी र श्रेष्ठ काठमाडौँबासी। यी तीनमध्ये कसले बाजी मार्छ भन्ने पुस ४ पछि मात्र देखिनेछ।
प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर आइजीपीको दाबेदार हुन सक्दैन। तर ३ बर्षअघि तत्कालीन डीआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको आइजीपी बन्ने लडाईमा अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेशचन्द्र पोखरेल ३ महिना निमित्त आइजीपी भएका थिए। नेपाल प्रहरीकै इतिहासमा यसलाई अपवादका रुपमा लिन सकिन्छ।