सरकारबाटै लोकतन्त्रमाथि खतरा छ : सहमहामन्त्री डा.महत
प्रकाशित २०७६ मंसिर २८ शनिबार
601
Shares
काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारबाटै लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्। गिरिजाप्रसाद फाउन्डेशन, नुवाकोटद्धारा आज यहाँ आयोजित गोष्ठीमा उनले भने–सरकारका लोकतन्त्रविरोधी पछिल्ला क्रियाकलापहरु बजारमा छरपष्ट आएका छन् र मलाई लाग्छ यिनै क्रियाकलापबाट नै लोकतन्त्रमाथि दिन प्रतिदिन खतरा पैदा भइरहेको छ।
सरकारले निषेध र नियन्त्रणको राजनीति गरेको र सत्तारुढ नेकपा बाहेक देशको प्रमुख विपक्षी तथा अन्य राजनीतिक दलको अस्तित्व समेत स्वीकार गर्न नसकेको उसका व्यवहारबाट देखिएको उनको आरोप थियो।
जब कुनै सत्ताले विपक्षी दलको आवाज सुन्ने र सबै विपक्षीहरुको सहमति र सहकार्यबाट अघि बढ्न चाहँदैन र निषेधको बाटो रोज्छ त्यस दलमा प्रजातान्त्रिक मूल्य मान्यता हराउँछ र यसैबाट देशमा प्रजातन्त्रको भविश्य खतरामा पर्छ–उनले स्पष्ट गरे।
हालै सम्पन्न भएको उपनिर्वाचनमा सरकारले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको आरोप डा.महतले लगाए। उनले भने कतिपय ठाउँमा नेकपाका स्थानीय निकायका पदाधिकारीहरुले धम्क्याएरै मतदानस्थलसम्म जान समेत नदिएको उनले बताए। यति हुदाहुदै पनि धरान र भक्तपुरमा भएको ऐतिहासिक जित वर्तमान सत्ता र नेकपाप्रतिको नेपाली जनताको असन्तुष्टि हो उनले भने। सहमहामन्त्री डा.महतले यो जीत नेपाली काँग्रेसप्रतिको भरोसाको एक उत्कृष्ट उदाहरण हो भनेर लाग्न समग्र काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गरे।
सरकारले नै जनता तर्साइरहेको यस्तो बेलामा पनि काँग्रेसले कहिल्यै नजितेको धरानजस्तो स्थानमा तथा भक्तपुरमा समेत काँग्रेसले विजय हासिल गर्नु भनेको काँग्रेसप्रतिको नेपाली जनताको आशा र भरोसा हो भनेर समग्र काँग्रेसीजनहरु नयाँ उर्जा र जोशका साथ संगठन सुदृढिकरणमा लाग्नुपर्छ–उनको भनाई थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको विशिष्ठ योगदान रहेको सहमहामन्त्री डा.महतले चर्चा गरे। उनले भने–उहाँको जीवन नै नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली काँग्रेसमा नै समर्पित थियो।
जबजब नेपालमा लोकतन्त्रमाथि कम्युनिष्टहरु र राजाबाट खतरा उत्पन्न हुन्थ्यो त्यतिबेला गिरिजाबाबुले नेपाली काँग्रेसको समग्र उर्जा र एकतालाई साथमा लिएर आन्दोलनको नेतृत्व गर्नुहुन्थ्यो र उहाँलाई काँग्रेसहित देशका समग्र प्रजातन्त्रवादी शक्तिशरुले साथ दिन्थे उनले स्मरण गरे।
अहिले पनि देशभर काँग्रेसले त्यस्तै उर्जा र एकता बटुल्ने बेला आएको उनले बताए। डा महतले भने–अहिले पनि देशमा प्रजातन्त्र खतरामा छ, काँग्रेसले गिरिजाप्रसादको जस्तो उर्जा र क्रान्तिकारी व्यवहारका साथ अघि बढ्नुपर्ने बेला आएको छ।
गिरिजाप्रसाद र नेपाली काँग्रेसकै कारण देशमा शान्ति स्थापना, गणतन्त्र र संविधान घोषणाको काम हुन सकेको कुरा इतिहासले कहिल्यै नबिर्सने प्रसंग उल्लेख गर्दै उनले अब पनि देशमा प्रजातन्त्रमाथि खतरा देखिएकोले यसको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए।