भूकम्प प्रभावित सम्पदाको संरक्षण गर्न भारतद्वारा इन्टाच परिचालन
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
299
Shares
काठमाडौं । नेपालमा ११ वटा साँस्कृतिक सम्पदाको भूकम्प पश्चात्को पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँग सम्झौता पत्रम हस्ताक्षर गरेको छ ।
बिहीबार मंसिर २६ गते उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा भारत सरकारका तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्टाच सदस्य सचिव डा. सि. टी मिश्राले हस्ताक्षर गरेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले सो समारोहमा उपस्थिति जनाएका थिए ।
इन्टाचले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने भारतीय दूतावासले जनाएको छ ।
साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि इन्टाचले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।
भारतभर १९० भन्दा बढी शाखाहरु रहेको इन्टाच विश्वको सबैभन्दा ठूलो साँस्कृतिक संगठनहरु मध्येको एक मानिन्छ ।
सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि इन्टाचलाई विशेष परामर्शदातृको रुपमा लिइएको थियो ।