arrow

योमरी किन ? यस्तो छ मल्लकालीन प्रचलन  

logo
सविना केसी,
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
yomari.jpg

मध्यपुरथिमि । तिहारमा देउसी-भैलो खेले झैं गरी टोलटोलमा गएर योमरी माग्ने मल्लकालीन प्रचलन अहिले नेवार समुदायमा लोप हुने अवस्थामा पुगेको छ । योमरी पून्हीका दिन बिहीबार टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, पैसालगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोप हुने अवस्थामा पुगेको हो ।     
     
 “त्यःछिं त्यः, बकछिं त्यः     
 लातापाता कुलिचां जुसें त्यः     
 योमरी च्वामु, उकिइ दुने हामु     
 बिउम्हः ल्यासे, मबिउम्ह बुरिकुती”     
     
 नेपाल भाषामा गाइने यो गीतले पैसा हुनेले पैसा दिनु, धान हुनेले धान दिनु, चामल हुनेले चामल दिनु, योमरी हुनेले योमरी दिनु, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनु भन्ने भावनाका साथ लोकभाकामा गीत गाएर टोलटोलमा गएर खेल्ने परम्परागत योमरी माग्ने प्रचलन अहिलेको पुस्ताले अनुशरण नगर्दा लोप हुने अवस्थामा पुगेको संस्कृतिकर्मी ओम धौभडेलले बताए ।
     
 “त्यः सिं त्यः बकसिं त्यः     
 थाबले यागु यःमरी छग ती यः     
 ब्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती     
 न्यग ब्यूसा काय् बुई छग ब्यूसा म्ह्याय् बुई     
 तालापाता कुलिचां जुसें त्यः     
 यःमरी माकु उकी दुने चाकु     
 व्यूम्ह ल्यासे मव्यूम्ह बुरीबुरी”     
     
 संस्कृतिकर्मी धौभडेलले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले योमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको बताउँछन् । योमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइन्छ । यो प्रचालनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
     
 किंवदन्तीअनुसार पांचाल देश (हालको पनौती) मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरीब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको योमरी खुवाए ।     
     
 उनको सत्कारदेखि प्रशन्न भई कुवेरले आफ्नो असली रुप देखाइ यमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण शरीरसमेत रिष्टपुष्ट हुन थाल्यो ।     
     
 त्यही बेलादेखि नेवार समुदायमा यमरी पूर्णिमाको संस्कृति विकास भएको देखिन्छ । धनसम्पत्ति वृद्धि र धनधान्य वृद्धि हुने विश्वासले नेवार समुदायमा योमरी पूर्णिमाका दिन सबैले योमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गर्दछ । नेवार समुदायमा क्षमताअनुसार पैसा, धान, चामल र योमरी दान गर्ने प्रचलन रहेको छ ।     
     
 पछिल्ला पुस्तालाई योमरी माग्ने गीत नै आउन छाडेको मध्यपुरथिमि बालकुमारीका सागर प्रजापति बताउँछन् । उनी भन्छन्, “केही वर्षअघिसम्म योमरी मागेर रमाइलो गर्ने चलन थियो तर अहिले यो चलन हराइसकेको छ । परम्परागत संस्कृति जोगाउनुपर्छ ।”    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ