arrow

कास्की कांग्रेसद्वारा मतदातालाई आभार व्यक्त, खेमराज गुरुले जनताको सेवा गरिरहने

logo
प्रकाशित २०७६ मंसिर १६ सोमबार
khemraj-poudel-nc-kaski.jpg

पोखरा। नेपाली कांग्रेस चुनाव प्रचार मूल समिति कास्कीले कांग्रेसको पक्षमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ । समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतका बाबजुदपनि कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थानमा मतदातालाई आतंकित पार्ने गरी गरिएका विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ । त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी  र पत्रकारलाई धन्यवाद दिइएको छ ।

विज्ञप्तिमा निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा मिनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रिय सदस्यहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यसैबीच, कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केही दिनभित्र निर्वाचनको समीक्षा गर्दै पार्टी सुदृढिकरणका अभियान सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रिय सदस्य एवं प्रतिनिधि डा.मिनेन्द्र रिजालले पार्टीलाई सुदृढीकरण गर्नुको बिकल्प नभएको बताए । ‘बलियो पार्टीमा मात्रै हामी सबै सुरक्षित हुन्छौ, उनले भने, ‘सबै मिलेर पार्टीलाई सशक्त र मजबुद बनाउन जुटौं ।’

उम्मेदवार खेमराज पौडेलले पार्टीभित्र र बाहिरबाट ठूलो साथ सहयोग र सहानुभूति पाएको उल्लेख गरे ।

निर्वाचनका लागि कात्तिक २५ गते पोखरा आएका नेता रिजाल सोमबार राजधानी फर्केको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

जनताका आवश्यकता पूरा गर्न खटिरहन्छु – पौडेल

 कास्की क्षेत्र नं २ उपनिर्वाचनमा कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार खेमराज पौडेलले निर्वाचनका बेला जनताकाबीच गरेका प्रतिवद्वता पूरा गर्न सदैव क्रियाशील बन्ने बताएका छन् ।

उम्मेदवार पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गरी निर्वाचनमा प्राप्त सहयोग, सद्भाव र  सहानुभूतिप्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनलाई सफल बनाउन खट्ने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिइएको छ । त्यस्तै, निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरिएको छ ।

विज्ञप्तिमा निर्वाचित विद्या भट्टराईलाई बधाई ज्ञापन गर्दै रचनात्मक काममा सदैव सहयोग रहने र जनताको आवश्यकता पूरा गर्न खटिरहने उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ