गगनलाई देखाएर खेमराजप्रति कटु टिप्पणी गर्ने प्रचण्डलाई पढाए विश्वप्रकाशले पाठ
प्रकाशित २०७६ मंसिर ११ बुधबार
1.7k
Shares
कास्की। चुनावी प्रचार प्रसारमा कास्कीमा पुगेका नेकपाका अध्यक्ष प्रचण्ड विवादमा तानिएका छन्। जेष्ठ नागरिकका प्रतिनिधी पात्र रहेका कास्की २ का कांग्रेस उमेद्वार खेमराज पौडेललाई देवघाट जाने उमेरमा सासंसदको उमेद्वार बनाएको अभिव्यक्ति दिएर प्रचण्ड विवादमा तानिएका हुन्। बुधबार दिउँसो नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस उमेदवार पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर कटु टिप्पणी गरेपछि उनी जेष्ठ नागरिकमाझ आलोचित भएका छन्।
आफ्नो चुनावी भाषणमा विरामी अवस्थामा रहेका प्रधानमन्त्रीलाई आराम दिन नेकपालाई सुझाव दिदै आएका कांग्रेस नेता गगन थापालाई इंगित गर्दै प्रचण्डले भने, “हाम्रो प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ वर्षका बुढा, जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ ?'
प्रधानमन्त्री केपी ओलीलाई आरामले उपचार गर्न पनि नदिएर नेकपाले दुख दिएको आसयमा गगन थापाले टिप्पणी गरेपनि प्रचण्डले त्यसलाई अर्कै कोणबाट टिप्पणी गरेपछि प्रचण्ड थप विवादित भएका हुन्।
७० पनि नपुगेका प्रधानमन्त्री मृगौला फेरि दोस्रो पटक मृगौलाको उपचारमा छन्। यो समाचार तयार पार्दा सम्म अनेक संक्रमणबाट जुध्दै अस्पतालको आइसियूमा संघर्षरत छन्। प्रधानमन्त्री ओलीभन्दा जेठा खेमराज अहिले पनि दैनिक हिड्दै घरघरमा मत माग्न पुगिरहेका छन्।
तर उनै पौडेललाई देवघाट जाने उमेर भनेर जेष्ठ नागरिकप्रति अनुदार टिप्पणी गर्ने प्रचण्डको विवादित अभिव्यक्ति पछि उनलाई पाठ पढाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा मैदानमा उत्रिएका छन्। उनले प्रचण्डलाई ट्विटरमार्फत जवाफ फर्काउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको उचाई र उमेरले चुनावी सभामा उमेदवार पौडेलमाथि गरेको टिप्पणी शोभनीय नभएको बताएका छन् । “कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?,” प्रवक्ता शर्माले प्रश्न गरेका छन् ।
उनले अमेरिकामा ७० नाघेका डोनाल्ड ट्रम्प राष्ट्रपति र ७० कै हाराहारीका केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बन्दा सोही उमेरका पौडेल सांसद बन्न किन नमिल्ने भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, “७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?”