डेढ वर्षपछि पत्रकार तेजबहादुरको अस्थिपञ्जर भेटियो, सत्यतथ्य छानबिन गर्न माग
प्रकाशित २०७६ मंसिर ११ बुधबार
835
Shares
डोटी । विगत डेढ वर्षदेखि बेपत्ताको अवस्थामा रहेका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ ।
डेढ वर्षपछि सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायत सामान भेटिएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। गत २०७५ भदौ १० गते करीब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए।
उनले डेढ वर्षपछि हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरे ।
विसं २०५४ मा कार्यक्रम प्रस्तोताका रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो पेशा शुरु गरेका खड्काले रेडियो नेपालमा रहँदा समाचार वाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए ।
उनले प्रस्तुत गर्ने कार्यक्रममा ‘देउडा गीतको सेरोफेरो’ र ‘बसिबियालो’ लोकप्रिय थिए । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उनले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गरेका थिए । बेपत्ता हुनुपूर्व उनि बाजुराको कोल्टीमा रहेको बूढीनन्दा एफएममा कार्यरत थिए ।