सीमाक्षेत्रमा नेपाल-भारतका सुरक्षा निकायको संयुक्त गस्ती
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर १० मंगलबार
577
Shares
महोत्तरी। महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका हुन्। जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतका मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएका छन्।
अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमी-दक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको छ। संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दियो।
पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। बलवा–२ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ।
उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।