ओलीले भने, 'अध्यक्ष दुवै कार्यकारी हो, मैले नभ्याएको र नचाहेको बेलामा मात्र हो प्रचण्डले अध्यक्षता गर्ने '
प्रकाशित २०७६ मंसिर १० मंगलबार
561
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै नेकपाको कार्यकारी अध्यक्ष भएको बताएका छन्। ओली ५ बर्ष प्रधानमन्त्री हुने कुरा स्विकार्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएर नेकपाको आन्तरिक द्वन्द समाधान गरिएको भनिएको केहि दिनमै प्रधानमन्त्री ओलीले आफू पनि कार्यकारी अध्यक्ष भएको बताएका हुन्।
वरिष्ठताको हिसावले पनि आफू प्रथम अध्यक्ष भएको दावी गर्दै ओलीले प्रचण्ड द्धितिय अध्यक्ष भएको बताए। प्रचण्ड भन्दा आफु नै बरिष्ठ भएकाले आफु प्रथम अध्यक्ष र त्यसपछिको अध्यक्ष मात्रै प्रचण्ड भएको ओलीको तर्क थियो।
नेकपा सचिवालय बैठकले ओली र प्रचण्डलाई समान वरियता दिँदै प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको भनिएपनि ओलीले समान बरियता नभई आफु बरिष्ठ र प्रथम अध्यक्ष भएको दावी गरेका हुन्।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ मा अन्तर्वार्ता दिदै ओलीले अध्यक्ष भन्ने पद आफैमा कार्यकारी भएकाले निस्क्रिय र सक्रिय अध्यक्ष भन्ने नहुने ओलीले बताए। उनले आफु सरकारतिर र प्रचण्ड पार्टीतिर बढी केन्द्रीत हुने बाहेक नयाँ बरियता र जिम्मेबारी परिवर्तन केही नभएको बताए। आफूले नचाहेको र नभएको बेलामा प्रचण्डले बैठकको अध्यक्षता गर्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने भएपनि अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी भएको जानकारी दिए । उनले भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ प्रचण्ड हुनुहुन्छ ।”
प्रधानमन्त्री ओलीले थप प्रष्ट पार्दै भने, “विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ, सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो, उहाँ अर्को अध्यक्ष हो ।’
‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ’, ओलीले भने । जसले जे भनेपनि पार्टीमा सिनियारिटी र जुनियारिटी भने हुने प्रधानमन्त्री ओलीले प्रष्टयाए ।
पूर्व माओवादीका एक नेताले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिले प्रचण्डलाई थाङनामा सुताइदिएको बताए। उनले ओलीको निकटहरु प्रचण्डप्रति सकारात्मक बन्न नसक्दा हतार हतार ओलीलाई बोल्न लगाइएको बताए।
प्रधानमन्त्री वरिपरिको सचिवालयको टीमलाई देखाउँदै ति नेताले भने अनुदारहरुले घेरिएर बसेका प्रधानमन्त्रीले कसरी पूर्व माओवादी नेतृत्वप्रति कसरी उदार भावमा कुरा गर्न सक्छन्?