सीमा बचाऊ अभियानबाट नेपालको नक्शा सार्वजनिक, राष्ट्रसंघसम्म पुर्याइने
प्रकाशित २०७६ मंसिर ८ आइतबार
616
Shares
काठमाडौं। नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो।
नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्रा. डा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए। उनले भने, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं। यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए। नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए।
सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए। उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे।
नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए। उनले भने, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो। सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए। भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो।
नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए। उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए। उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ।
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे। उनले भने,भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक।
पूर्व सचिव तथा अभियानकर्ता डा. द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए। नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए। संयुक्तराष्ट्रसंघसम्म नक्शा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो।