चार नगरपालिका अवलोकन पछि वालिङ नगरको भ्रमण टोली फिर्ता
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७६ मंसिर ८ आइतबार
890
Shares
स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकाको न्यायीक समितिको टोलीले विभिन्न जिल्लाका नगरपालिकाको अध्ययन अवलोकन गर्दै फिर्ता भएको छ । शुक्रवार देखि हिडेको भ्रमण टोली बुधवार वालिङ फर्केको हो ।
वालिङ नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक कल्पना तिवारीको नेतृत्वमा अध्ययन अवलोकन गर्न हिडेको टोलीले ४ जिल्लाका ४ नगरपालिका सगँ अन्तरक्रिया गरेको थियो ।
कपिलबस्तु जिल्लाको वाणगंगा नगरपालिका, प्युठानको स्वर्गद्धारी नगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुर नगरपालिका सगँ अन्तर नगरपालिकाको न्यायीक सम्पादनमा के कस्ता समस्या र समाधानका साथै न्याय सम्पादनका लागि अपनाईएका बिषयहरुलाई प्रथामिकताका साथ छलफल गरिएको थियो । न्याय सम्पादन मात्रै नभएर राजस्व, फोहोरमैला व्यवस्थापन, विकास निर्माणको अवस्था, जनप्रतिनिधि र कर्मचारीको सम्वन्धका साथै जनप्रतिनिधि र नागरिक विचको सम्वन्धका बारेमा छलफल गरिएको भ्रमण टोलीका संयोजक तथा उपप्रमुख कल्पना तिवारीले बताईन् ।
अन्तर नगरपालिका भ्रमण गर्नु आवश्यक रहेको महशुष गरेकी छु उपप्रमुख तिवारीले भनिन्,“नगरपालिकाहरुको कार्ययोजनाको विषयमा छलफल हुनु जरुरी रहेछ ।” यस्ता भ्रमणले अन्तर नगरपालिका विचको सम्वन्ध र कार्ययोजनामा टेवा पुग्ने रहेछ तिवारीले भनिन् ।
अन्तरक्रिया गरिएका नगरपालिकाको भौगोलिक अवस्था देखि नगारिकका अवश्यकता लगभग मिल्दोजुल्दो रहेको पाइएको तिवारीको भनाई छ । स्थानीयतहमा विषयगत शाखाहरुबाट हुने सेवा प्रवाहका बिषयमा केही नयाँपन पाएको र हामीले गरेको नयाँपन पनि सो नगरपालिकाले पाएको महशुष लागेको उपप्रमुख तिवारीले बताईन् । महिलाहरुले कार्य सम्पादन गर्न सक्दैनन् भन्ने मानसिकताबाट गुज्रेको हाम्रो समाजमा उपप्रमुखको हैसियतमा महिलाले नगरपालिकाको हरेक काममा सकारात्मक भुमिका खेलेको तिवारीको बुझाई छ ।
भ्रमण टोलीले पहिलो दिन बाणगंगा नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा अन्तरक्रिया गरेको थियो भने दोस्रो दिन विरेन्द्रनगर नगरपालिका र कोहलपुर नगरपालिका सगँ अन्तरक्रिया गरेको थियो । अधिकांश नगरपालिकामा जग्गा सम्वन्धी विवाद न्यायीक समितिमा आउने गरेको पाइएको वालिङ नगरपालिका न्यायीक समितिका सदस्य बसन्तकुमार मल्लले बताए । अन्तर नगरपालिका सिकाईको अनुभव लिनु आवश्यक रहेछ सदस्य मल्लले भने,“यस्ता भ्रमणलाई समितिले निरन्तरता दिनु आवश्यक देखियो ।”
न्याय जस्तो संवेदनशिल बिषयमा अन्य नगरपालिकाले गरेका गतिविधि आदनप्रदान हुनुपर्छ मल्लले भने । संघियतामा मुलुक गएसगै निर्वाचन पछि हरेक स्थानीयतहमा न्यायीक समिति बनाउने संविधानत भए अनुसार अहिले कुनै समस्या भए नगरपालिकाको न्यायीक समितिमा उजुरी दिने व्यवस्था आएको छ ।
भ्रमण टोलीले बाणगंगाका नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्री, उपप्रमुख गोमा रेग्मी, विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी लगायत न्यायीक समिति सगँ छलफल तथा अन्तरक्रिया गरेको थियो ।
नगरपालिकालाई अब्वल बनाउन जनप्रतिनिधिहरुले कर्मचारी सगँ समन्वय गरेर काम गरेको देखिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए । कर्मचारी र जनप्रतिनिधि विच समन्वय भएर काम गर्न सकियो भने नगरपालिकालाई हरेक गतिविधिले अगाडी बढाउन सकिन्छ भन्ने बुझाई यो भ्रमणबाट पाएको सुवेदीले बताए ।
नगरपालिकाले नगरको विकासका लागि जनप्रतिनिधि र कर्मचारी विचको अन्तर सम्वन्ध निकट रहनुपर्ने भ्रमण टोलीको सिकाई रहेको छ । यो भ्रमणले पहिलो कुरा त सिकाई भयो नगर प्रवक्ता केदार काफ्लेले भने,“हरेक नगरपालिका सगँ समन्वय गरेमा नयाँ बिषय आउने रहेछ ।” नगरपालिकाले गर्ने तौतरिका र विकास निर्माणलाई कुन विधि अपनाइएको छ भन्ने बिषय नै मेरो बुझाई रहेको छ उनले भने ।
भ्रमण टोलीमा न्यायीक समितिका सदस्य आनन्द पाठक, सामाजिक विकास शाखाका अधिकृत पदमप्रसाद पाण्डे, कानुन शाखाका नरबहादुर पौडेल, लेखापाल इश्वरी तिवारी, महिला तथा वालवालिका शाखाका अनुस्का काफ्ले र पत्रकार श्रीकृष्ण सिग्देलको सहभागिता रहेको थियो । अध्ययन अवलोकनमा रहेका नगरपालिकामा हरेक वडामा मेलमिलाप समिति गठन सगै वालिङ नगरपालिका सगँ मिल्दोजुल्दो रहेका देखिएको छ । यो अध्ययन अवलोकनबाट सिकेको सिकाईलाई वालिङ नगरपालिकाले अनुसरण गर्नुपर्ने धेरै विषय रहेका छन् ।