प्रचण्डका घरबेटीलाई ठेक्का दिनु गलत, झुटो कुरा गर्नेलाई जनताले फाल्छन् :सुवाल
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
245
Shares
नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा झुटो कुरा गर्ने पार्टीलाई जनताले पञ्चायतलाई फालेझैँ फाल्ने बताएका छन्।
नेमकिपाले भक्तपुरको चाँगुनारायणस्थित झौखेलमा आज आयोजना गरेको चुनावीसभामा उनले चुनाव भ्रष्टाचार विरोधी र भ्रष्टाचारीबीचको राजनीतिक लडाइँ भएको बताए ।
नगरकोट सडक दुई वर्षमा बनाउनुपर्नेमा छ वर्ष बित्दा पनि नबनाउने सैलुङ एआइपिएल जेभीलाई मेलम्चीको पानीको ठेक्का दिनु गलत भएको उनको भनाइ थियो । १५.६६० किलोमिटर कमलविनायक-नगरकोट सडक खण्ड स्तरोन्नति गर्न २०७१ असार २ गते सैलुङ एआइपिएल जेभीसँग ३१ करोड ५२ लाख ९२ हजार २ सय २० रुपैयाँमा सम्झौता भएको थियो। सैलुङ कन्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्।
अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको झण्डै डेढ अर्ब रुपैयाँको ठेक्का पाएको छ । शैलुङले मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो ।
सचिव सुवालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय अतिक्रमणविरुद्ध सबै पार्टी एकजुट हुनुपर्ने उल्लेख गरे। नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाईँ र सिर्जना सैँजूले आफ्नो पार्टीका उम्मेदवार निरज लवजूलाई मतदान गर्न आग्रह गरे।
घरघरमा मतदाता शिक्षा
जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचन हुने क्षेत्रका मतदातालाई मतदाता शिक्षा दिन वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरी मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेको छ । मङ्सिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको उपनिर्वाचनमा मत कसरी सुरक्षित तरिकाले हाल्ने भन्ने कुरा सिकाउन घरघरमा मतदाता शिक्षा दिने गरी एक वडामा दुई जनाको दरले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकारी घमचन्द्र तिम्सिनाले बताए ।
चाँगुनारायण नगरपालिका भित्रका नौ वडामा र भक्तपुर नगरपालिकाको १० नम्बर वडाका मतदातालाई मत बदर नहुने गरी कसरी स्वस्तिक छाप लगाउने भन्नेबारे शिक्षा दिन नमूना मतपत्र र स्वस्तिक छापसहित मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा पठाइएको उनले बताए ।
उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता गराउन, मतदातालाई मतदान प्रक्रियाको बारेमा जानकारी गराउन, बदर मतको प्रतिशत घटाउन, मतदाता परिचयपत्र वितरण गर्न था उपनिर्वाचनको पोस्टर टाँस्न उनीहरुलाई परिचालन गरिएको हो ।